लण्डन। नेपाली पण्डित संघ यूकेको आयोजनामा दशैँ–तिहार विशेष शुभकामना आदानप्रदान तथा पण्डित भेला शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ।
संघका अध्यक्ष पण्डित चिरञ्जीवी ढकालको सभापतित्वमा जुम (Zoom) मार्फत आयोजित अनलाइन सम्मेलन दिउँसो १ बजेदेखि करिब तीन घण्टासम्म सञ्चालन भएको थियो।
कार्यक्रमको प्रारम्भमा संघका महासचिव पण्डित शेखर शाण्डिल्य काफ्लेले वैदिक मङ्गलाचरण, भगवती स्तुति तथा शान्तिमन्त्र पाठ गर्नुभएको थियो। त्यसपछि वरिष्ठ उपाध्यक्ष पण्डित नीलहरि घिमिरेले स्वागत मन्तव्य राख्दै सहभागी सम्पूर्ण पण्डित तथा अतिथिहरूलाई शुभकामना व्यक्त गर्नुभएको थियो।
नेपाल र बेलायतमा एउटै दिन दशैँको टीका लगाउनुपर्नेमा जोड
कार्यक्रममा महासचिव काफ्लेले नेपाल र बेलायतमा दशैँ–तिहारजस्ता महत्वपूर्ण चाडपर्व सम्भव भएसम्म एउटै मिति र समयमा मनाउनुपर्नेमा विशेष जोड दिनुभयो।
उहाँले अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिले निर्धारण गरेको विजयादशमीको टीकाको मितिप्रति ध्यानाकर्षण गराउँदै बेलायतको स्थानीय समय, तिथिको शास्त्रीय आधार तथा नेपाली समुदायको व्यावहारिक अवस्थालाई समेत ध्यानमा राख्नुपर्ने बताउनुभयो।
नेपाल र बेलायतमा फरक–फरक दिन टीका लगाउँदा परिवार तथा समुदायमा अन्योल सिर्जना हुने र सांस्कृतिक एकतामा समेत असर पर्न सक्ने उल्लेख गर्दै उहाँले नेपालमा टीका लगाइने दिनमै बेलायतमा पनि टीका लगाउनु उपयुक्त हुने धारणा राख्नुभयो।
महासचिव काफ्लेले अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिले नेपालभन्दा अघिल्लो दिन बेलायतमा दशैँको टीका लगाउने गरी गरेको निर्णय स्वीकार गर्न नसकिने धारणा स्पष्ट पार्नुभयो।
नयाँ पुस्तामा नेपाली संस्कार र संस्कृति हस्तान्तरण गर्न आग्रह
संघका अध्यक्ष पण्डित चिरञ्जीवी ढकालले विदेशमा जन्मिएका तथा हुर्किरहेका नयाँ पुस्तालाई नेपाली संस्कार, संस्कृति र वैदिक सनातन धार्मिक परम्परासँग जोडिराख्नु आजको प्रमुख आवश्यकता भएको बताउनुभयो।
उहाँले बेलायतमा रहनुभएका पण्डितहरूबीच आपसी सद्भाव, सहकार्य र एकतालाई थप सुदृढ गर्दै नेपाली धर्म, संस्कृति तथा मौलिक परम्पराको संरक्षण र प्रवर्द्धनमा नेपाली पण्डित संघ यूकेले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
भावी पुस्तालाई आफ्नो मौलिक पहिचान र सांस्कृतिक परम्परासँग जोडिराख्न सबै पण्डितहरू एकजुट भएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।
कार्यक्रममा संघका उपाध्यक्ष पण्डित गोविन्द नेपालले पनि दशैँ–तिहारको शुभकामना व्यक्त गर्नुभएको थियो।
पञ्चाङ्ग निर्माण र तिथि निर्धारणका चुनौतीबारे छलफल
भेलामा वेल्सस्थित शिवशक्ति मन्दिरका पण्डित तथा संघका सचिव डा. थानेश्वर पाण्डेयले पञ्चाङ्ग निर्माण तथा तिथि निर्धारणसँग सम्बन्धित चुनौतीबारे प्रकाश पार्नुभयो।
त्यस्तै, बर्मिङ्घमस्थित शनिधाम मन्दिरका पण्डित रेवतीरमण पाण्डेले पञ्चाङ्गका चुनौती तथा वैदिक सभ्यताका विषयमा आफ्ना विचार प्रस्तुत गर्नुभयो।
पण्डित ईश्वरी शर्माले पनि नेपाल र बेलायतमा चाडपर्वका तिथि एउटै बनाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा पण्डित बालकृष्ण आचार्य, शिववल्लभ रेग्मी, मधुसूदन सत्याललगायतका पण्डितहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्ट्राटफोर्डस्थित राधाकृष्ण मन्दिरका पण्डित अमृत गैरेले कविता वाचन गर्दै सहभागी सबैलाई शुभकामना दिनुभयो। संघका सदस्य पण्डित बासुदेव सापकोटाले पनि कवितामार्फत संघको उद्देश्य र एकताको सन्देश प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमका विशेष अतिथि क्वीन्स गोर्खा सिग्नल्स रेजिमेन्ट, गेमकक ब्यारेक्स, ब्राम्कोटमा कार्यरत पण्डित जगदीश पौडेलले भेलामा सहभागी हुन पाउँदा खुसी व्यक्त गर्दै सम्पूर्ण सहभागीलाई शुभकामना दिनुभयो।
त्यसैगरी, स्कटल्यान्ड निवासी संघका सदस्य पण्डित माधवशरण रेग्मीले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो।
धर्म–संस्कृतिको प्रवर्द्धनमा प्रविधि र युवाको सहभागिता आवश्यक
कार्यक्रममा युवा पण्डित पवन दाहालले सामाजिक सञ्जाल तथा आधुनिक प्रविधिको प्रभावकारी उपयोगमार्फत नेपाली धर्म, संस्कार र संस्कृतिको प्रचारप्रसार गर्न सकिने धारणा राख्नुभयो।
उहाँले संघका गतिविधिमा युवा पुस्तालाई सक्रिय रूपमा सहभागी गराउँदै नयाँ पुस्तासम्म धार्मिक तथा सांस्कृतिक ज्ञान पुर्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
त्यस्तै, बेलायतमै जन्मिएर हुर्किनुभएका युवा पण्डित मिलन पौडेलले पनि कार्यक्रममा सहभागी सम्पूर्णलाई शुभकामना व्यक्त गर्नुभएको थियो।
भेलामा नेपाली मौलिक धर्म–संस्कृतिको संरक्षण, पञ्चाङ्ग तथा तिथि निर्धारणमा देखिएका चुनौती, नयाँ पुस्तामा संस्कार हस्तान्तरण र बेलायतमा रहेका पण्डितहरूबीच आपसी एकता तथा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विशेष जोड दिइएको थियो।
अन्त्यमा संघका कोषाध्यक्ष पण्डित होमनाथ पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सभापति एवं संघका अध्यक्ष पण्डित चिरञ्जीवी ढकालले कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो।
स्रोत : पण्डित शेखर शाण्डिल्य काफ्ले
महासचिव, नेपाली पण्डित संघ यूके






