काठमाडौं– एमाले– माओवादी केन्द्रले चुनावी तालमेलसहित पार्टी एकता गर्ने सङ्कल्प गरेको ७ महिना पूरा हुन लाग्दैछ ।
गत वर्षको १७ असोजमा राष्ट्रिय सभागृहबाट दुई पार्टीका शीर्ष नेताले दुवै पार्टीबीच छिटै अर्थात चुनावअघि नै एकता गरी एउटै कम्युनिस्ट पार्टी बनाउने घोषणा गरेका थिए ।
तर, उनीहरूको त्यो प्रतिबद्धता चुनावअघि भने पूरा हुन सकेन ।
त्यसबेला प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सँघारमा थियो । त्यसैले दुवै पार्टीले वाम गठबन्धनमार्फत साझा उम्मेदवार तय गर्दै देशैभर उम्मेदवार उठाए ।
चुनावमा वाम गठबन्धनले निर्वाचनमा प्रचण्ड बहुमत हासिल पनि गरे । त्यसपछि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा वाम गठबन्धनको सरकार गठन भयो ।
चुनावी परिणामपछि उत्साहित दुई पार्टीले पार्टी एकताको कामलाई त्यसपछि थप गति दिए । एकता संयोजन समिति र कार्यदल दुवै गठन गरे ।
त्यसपछि फागुन ७ (प्रजातन्त्र दिवस) को राति बालुवाटारबाट पार्टी एकताका ७ बुँदे आधारपत्र जारी गरे ।
पार्टी एकताका लागि कार्यदलले तयार पारेको माक्र्सवाद र लेनिनवादलाई एकीकृत पार्टीको मार्गनिर्देशन सिद्धान्त मान्न दुवै दल तयार भए । त्यस्तै माओवाद, जनतालको बहुदलीय जनवाद र २१औँ शताब्दीको जनवादमा मिलेका साझा विषयलाई ग्रहण गरी परिमार्जन र विकाससहित बहस, छलफलमा लैजान पनि उनीहरू सहमत भए ।
कार्यदलको सुझाव अनुसार वैशाख नौ गते कम्युनिस्ट पार्टीको स्थापना दिवस पनि भएकाले त्यही दिन पार्टी एकता घोषणा गर्ने मनस्थितिमा प्रायः सबै नेता तयार भएका थिए ।
तर अन्तिममा विवादको विषय निस्कियो–निर्वाचन चिन्ह के राख्ने ? विधानको मस्यौदामा जनयुद्ध शब्द राख्ने कि नराख्ने र एकीकृत पार्टीमा कुन पार्टीका कति सदस्य राखेर सङ्गठन बनाउने ?
यी विषयले दुवै पार्टीबीच निकै ठूलो खटपट ल्याइदियो । जसले गर्दा वैशाख ९ मा हुने भनिएको एकता घोषणा अनिश्चित कालका लागि पछि धकेलियो ।
निर्वाचन चिन्ह र जनयुद्ध शब्दमा लगभग कुरा मिले पनि सङ्ख्यामा भने अझै कुरा मिलेको छैन, जसले गर्दा एकताको पक्षमा रहेका नेता कार्यकर्तालाई कसरी सम्झाउने भन्ने नेताहरूलाई परिलो छ ।
समावेशी, न्यायोचित र समानुपातिक ढङ्गले एकीकरण हुनुपर्छ भन्ने माओवादी अध्यक्ष प्रचण्डको अडान छ भने निर्वाचनमा आएको परिणामको आधारमा सङ्ख्या निर्धारण गर्नुपर्छ भन्ने एमालेको अडान छ ।
यही अडानको मिलनविन्दु नभेट्टाउँदा पार्टी एकताको घोषणाको मिति अझै तय हुन नसकेको मात्रै हैन, कहिले नेताहरू मिति नै नतोकी एकता गर्ने त कहिले फलानो दिन मिति तोक्ने भन्दै आश्वसन दिइरहेका छन् ।
१. पार्टी एकता मिति तोकेर नभई ‘ड्याम्मै’ हुन्छ– वैशाख ९, काठमाडौं ।
२. पार्टी एकीकरणमा कुनै जटिलता छैन, वैशाख १४ गते दुवै कार्यदलमा छलफल गरेर त्यही दिन पार्टी एकताका लागि मिति घोषणा गरिन्छ– वैशाख ११, चितवन ।
विगत ५ दिनमा पार्टी एकताबारे यी दुई फरक फरक अभिव्यक्ति दिएका हुन्– माओवादी अध्यक्ष प्रचण्डले । गत वैशाख नौ गते नै पार्टी एकताका लागि मिति घोषणा गर्ने अपेक्षा दुवै पार्टीका नेता कार्यकर्ताको थियो ।
उक्त दिन मिति घोषणा गर्न दुई नेता तयार भइनसकेपछि केही हदसम्म भए पनि नेता कार्यकर्ताको मन शान्त पार्न अध्यक्ष प्रचण्डले मिति नै घोषणा नगरी एकता गरिने बताएका हुन सक्छन् । तर, प्रचण्डको उक्त अभिव्यक्ति २ दिन पनि टिक्न सकेन ।
लगत्तै वैशाख ११ गते चितवनमा पुगेर प्रचण्डले बोली फेर्दै भने, ‘एकीकरणमा कुनै समस्या छैन, दुई अध्यक्षले प्रशस्त समय निकाल्यौं भने छिट्टै टुङ्गोमा पुग्छौं । हतारमा एकता गरेर फुर्सदमा पछुताउनुभन्दा समय छँदा नै सोचेर अघि बढ्नु राम्रो हुन्छ ।’
एमाले अध्यक्ष केपी ओलीले वैशाख ९ गते नै एकताबारे भनेका थिए– ‘जुत्ता तयार भइसक्यो अब खुट्टा ताछतुछ पारेर भए पनि जुत्ता लगाउनुपर्छ ।’ यसको यर्थ पार्टी एकताको सम्पूर्ण तयारी भइसकेको छ । तर केही कुरा मिलेका छैनन् भन्ने बुझिन्छ ।
तर खुट्टा ताछ्न सजिलो छ कि अर्को जुत्ता किन्न ? यो प्रश्न पनि सँगसँगै उब्जेको छ ।






