काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले अफ्रिका महादेशकै छानो भनेर चिनिने किलिमञ्जारो हिमाल पर्वतारोहणका लागि जान लाग्नुभएका लामो दूरीका धावक सञ्जय पण्डितलाई आज नेपालको राष्ट्रिय झन्डा दिएर बिदाइ गर्नुभयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पण्डितको विश्वका सबै सर्वोच्च शिखर टेक्ने सपनालाई पूरा गर्न आफूसँगै सरकारीस्तरबाट उचित सहयोग गरिने बताउँदै भन्नुभयो, “उहाँ (पण्डित) ले पर्वतारोहण गरेरै देशलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउनुभएको छ, अझ सफलताको कामना गर्छु ।”
सात महादेशका सर्वोच्च शिखरको आरोहणको तयारीमा रहनुभएका पण्डितको अन्तिम गन्तव्य अन्टार्टिकाको ‘बिन्सोन मसिफ’ रहेको छ । उहाँले नेपालका सगरमाथा र मनास्लु, जापानको सर्वोच्च शिखर फुजी तथा युरोप, अमेरिका, अस्ट्रेलियालगायत महादेशका सर्वोच्च शिखर आरोहण गरिसक्नुभएको छ ।






