काठमाडौं– एकीकृत माओवादीभित्र मन्त्रीहरुको कार्यशैली र कामको आलोचना सुरु भएको छ । शनिबार विहान बसेको स्थायी समिति वैठकमा पार्टी अध्यक्ष प्रचण्डसहित स्थायी समितिका केही सदस्यहरुले सरकारको कामवारे प्रश्न उठाएका हुन् ।
वैठकमा सवैभन्दा बढी आक्रमक देखिएका गोपाल किरातीले मन्त्रीपरिषदमा पार्टीका तर्फबाट पठाइएकाहरुको हेरफेर गर्न माग गरे । ‘मन्त्रीमण्डलको बनाबट नै ठीक छैन् । यसको बनाबट नै बदल्नुपर्छ । गृहमन्त्रीले भूकम्पको कोटामा पार्टीलाई ध्वस्त बनाउने काम गर्नुभयो,’ उनले भने ।
नेता किरातीले काम गर्न नसक्नेले कुर्सी लिएर बस्न नहुँदे भन्दै मन्त्रीको आलोचना गरे ।
वैठकमा गृहमन्त्री शक्ति बस्नेतले भूकम्प पीडितको कोटामा चीन भ्रमणमा गएको विषयमा आफूलाई सचिवालय र कर्मचारीले फसाएको गुनासो गरेका थिए ।
गृहमन्त्रालयले भुकम्प पीडितका नाममा आएका कोटामा मन्त्रीका नातेदारसहितलाई पठाएपछि गृहमन्त्रीको आलोचना सुरु भएको थियो ।






