तनहुँ समाज अष्ट्रेलियाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रकाश पौडेल निर्वाचित

सिड्नी । तनहुँ समाज अष्ट्रेलियाको चौथो वार्षिक साधारणसभा (एजीएम) सम्पन्न भएको छ। आइतबार, १३ सेप्टेम्बर २०२६ मा सम्पन्न अधिवेशनले प्रकाश पौडेललाई समाजको नयाँ अध्यक्षमा निर्वाचित गरेको छ।निवर्तमान अध्यक्ष मेघराज पौडेलको संयोजकत्वमा सम्पन्न अधिवेशनमा समाजका सदस्य, सल्लाहकार, पूर्व पदाधिकारी, वरिष्ठ समुदाय अगुवा, प्रायोजक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

अधिवेशनबाट प्रकाश पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। नयाँ कार्यसमितिको उपाध्यक्षमा दामोदर अधिकारी, महासचिवमा विनोद सेन्चुरी, सचिवमा ईश्वर लाम्साल र कोषाध्यक्षमा संगीता खनाल चयन भएका छन्। कार्यसमिति सदस्यमा सर्बदा घिमिरे, नारायण लाउदारी र भीम गुरुङलगायत रहेका छन्।

समाजको स्थापना सन् २०१५ देखि नै तानहुँसँग जोडिएका नेपालीहरूलाई एकताबद्ध गर्दै सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधि सञ्चालन गर्दै आएको समाजले नेपाली पहिचान र परम्पराको संरक्षणमा समेत योगदान पुर्‍याउँदै आएको छ। विशेषगरी तनहुँको मौलिक कौरा नृत्यलाई अष्ट्रेलियाको नेपाली समुदायमा प्रवर्द्धन र प्रस्तुत गर्दै आएको समाजको महत्वपूर्ण सांस्कृतिक योगदानका रूपमा लिइएको छ।

अधिवेशनमा संस्थापक अध्यक्ष पुरुषोत्तम अधिकारीले समाजको स्थापना, विकास र आगामी जिम्मेवारीबारे धारणा राखेका थिए। समाजका सल्लाहकार तथा एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष सुरेन्द्र सिग्देलले नवनिर्वाचित अध्यक्ष तथा कार्यसमितिलाई बधाई दिँदै आगामी कार्यकालका लागि शुभकामना दिएका थिए। निवर्तमान उपाध्यक्ष सूर्य खनालले स्वागत मन्तव्य दिएका थिए।अधिवेशनमा निवर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका गतिविधि तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थियो। निर्वाचन प्रक्रिया सम्पन्न गर्न निर्वाचन समिति गठन गरिएको थियो।

निवर्तमान अध्यक्ष मेघराज पौडेलले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने कार्यसमिति, सल्लाहकार, सदस्य, स्वयंसेवक, सांस्कृतिक तथा कार्यक्रम संयोजक, प्रायोजक र सम्पूर्ण समुदायप्रति धन्यवाद व्यक्त गरेका थिए। उनले समाजको उपलब्धि कुनै एक व्यक्तिको प्रयास नभई सबैको सामूहिक योगदानको परिणाम भएको उल्लेख गर्दै नवनिर्वाचित अध्यक्ष प्रकाश पौडेल र नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए।नयाँ नेतृत्वले समुदायबीचको एकता थप मजबुत बनाउने, सदस्य तथा परिवारलाई सहयोग गर्ने, नेपाली तथा तानहुँको कला–संस्कृतिको संरक्षण गर्ने र नयाँ पुस्तालाई समुदायसँग जोड्ने कार्यलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।अधिवेशन सकारात्मक तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। नवनिर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्न छुट्टै कार्यक्रम आयोजना गरिने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *