बाँके, पुस २३ – सामूहिक रूपमा छोरीमाथि बलात्कार भएको प्रहरीमा उजुरी दिने बुबामाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले हिरमिनियाका रामवरण यादवलाई पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेको छ । घटनामा संलग्न भएको आरोप लागेका तीन जना फरार छन् । प्रहरीले अदालतबाट म्याद थप गराई घटना अनुसन्धान थालेको छ । पेटमा गोली लागेका वृद्धको उपचार कोहलपुरस्थित शिक्षण अस्पतालमा भइरहेको छ । घटनापछि गाउँमा त्रास छ । बाँके प्रहरी नायव उपरीक्षक (डीएसपी) सुशीलसिंह राठौरले बलात्कृत नाबालिकाका बुबालाई गोली हानेको आरोपमा यादवलाई पक्राउ गरी मुद्दा चलाएको बताए । उनले घटनामा संलग्नको पहिचान भइसकेको र खोजी रहेको दाबी गरे ।
हिरमिनियाका किशोरी गत साउन २७ गते सामूहिक रूपमा बलात्कृत भएकी थिइन् । स्थानीय युवा महेश बर्मा, सुशील बर्मा र रामफेरन कोरीले सामूहिक बलात्कार गरेको आरोप लगाउँदै किशोरीका बुबाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । उजुरी दिएलगत्तै आरोप लागेका व्यक्तिका परिवारले किशोरीका बुबालाई जाहेरी फिर्ता लिने भन्दै धम्काउँदै आएको प्रहरीले जनाएको छ । ‘किशोरीमाथि सामूहिक बलात्कार भएपछि रामवरणले उनका बुबालाई घरमै गएर धेरैपल्ट धम्काएको खुल्नमा आएको छ,’ डीएसपी राठौरले भने, ‘पीडित परिवार अलि कमजोर रहेको र आरोपित अलि बलिया भएकाले पनि बढी धम्काइएको हुनुपर्छ ।’
किशोरी बलात्कृत भएको उजुरी गरेपछि गोली प्रहारको घटनापछि पीडित परिवार त्रासमा बाँच्दै आएका छन् । जाहेरी दर्ता भएदेखि नै आरोप लागेका व्यक्तिका परिवारले घटना गाउँमै मिलाउने भन्दै दबाब दिंदै आएको स्थानीयले बताएका छन् । दबाबकै कारण किशारी बलाकृत भएको उजुरी प्रहरीमा दुई दिन ढिलो गरी परेको थियो । किशोरीको स्वास्थ्य परीक्षणपछि बलात्कृत भएको प्रमाण भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले उजुरी दर्ता गरी आरोपितको खोजी गरिरहेको जनाएको छ । प्रहरीले सुरक्षा दिन नसकेको स्थानीयको आरोप छ । सामूहिक बलात्कारको घटनालाई गाउँमा दबाउन खोज्दा उक्त घटना घटेको उनीहरूको गुनासो छ ।






