एनआरएनए यूकेको अवैधानिक सदस्यता रद्ध गर्न अध्यक्षका प्रत्याशी श्रेष्ठको माग

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको सदस्यता प्रमाणिकरण नियमविपरित रहेको भन्दै निर्वाचनमा उम्मेद्वारी दिने निर्णय गरेका दीपक श्रेष्ठले आपत्ति जनाएका छन् ।

विहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै श्रेष्ठले वर्तमान नेतृत्वले सदस्यता प्रमाणीकरण गर्दा संस्थाको नियमावलीलाई मिचेको आरोप लगाएका छन् ।

सदस्यता प्रमाणिकरणसम्बन्धी नियमावलीमा पासपोर्ट, ड्राईभिङ लाइसेन्सको फोटोहरूलाई कांटछांट गरेर फर्ममा प्रयोग गर्न नपाइने, ठेगाना नभएका फर्महरुलाई प्रमाणीकरण नगर्ने भन्ने लगायतका बुंदा स्पष्टसंग व्यवस्था गरिएपनि त्यो पालना नभइ जथाभावी रुपमा प्रमाणीकरण गरिएको भन्दै उनले विरोध गरेका हुन् ।

उनले भनेका छन्, निर्वाचनलाई नै प्रभावित पार्ने किसिमका एकै प्रकारका ईमेलहरु लगायतका थुप्रै नियम विपरित आएका फर्महरू प्रमाणीकरण गर्ने कार्य भएकोले संघको विधान र नियमावली मिचेर अवैधानिक रुपमा प्रमाणीकरण भएका सबै सदस्यता फर्महरूलाई बिना शर्त रद्ध गर्न म जोडदार माग गर्दछु ।

यसरी बनाइएका सबै सदस्यहरूलाई १ हप्ताको समय दिएर प्रोफाईल पिक्चर परिवर्तन गराएर गल्ती सच्याउने मौक मिलाउन सकिने तर तर त्यसो नगरी बलपूर्वक नियम मिचेरै निर्वाचनमा सहभागी गराउने कार्य गरिए गलत र अवैधानिक कार्यविरुद्ध सबै बाटो र माध्यमहरुबाट लड्दै बेलायती अदालतको ढोका ढक्काउन सम्म बाध्य हुने चेतावनी श्रेष्ठले दिएका छन ।

नियमविपरित भएका प्रमाणहरू आफूसँग सुरक्षित रहेको भन्दै नेतृत्वले नसच्याएको खण्डमा अदालतसम्म पुग्ने उनले चेतावनी दिएका छन् ।

प्रेस वक्तव्य :

बेलायतवासी सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरु एवम् संचारकर्मी मित्रहरु,

गैरआवासीय  नेपाली संघ बेलायतको सदस्यता लिने क्रममा प्राप्त भएका आएका अनलाईन फर्महरूलाई प्रमाणिकरण गर्नेसंबन्धी नियमावलीलाई नै मिच्दै प्रमाणीकरण भइरहेको संवेदनशील विषयमा तपाईंहरु सबैको ध्यानाकर्षण गराउन चाहन्छु।        

सदस्यता प्रमाणीकरणमा गैर आवासीय नेपाली संघ युकेको सदस्यता प्रमाणीकरणसम्बन्धी नियमावलीमा पासपोर्ट, ड्राईभिंग लाईसेन्सको फोटोहरूलाई नै कांटछांट  (क्रप) गरेर फर्ममा प्रयोग गर्न नपाईने,ठेगाना नभएका फर्महरुलाई प्रमाणीकरण नगर्ने भन्ने लगायतका बुंदा स्पस्टसंग व्यवस्था गरिएको हुँदाहुँदै पनि पासपोर्ट, ड्राईभिंग लाईसेन्स लगायतमा भएका फोटोहरूलाई नै कांटछांट गर्दै फोटोहरू प्रयोग गरिएका फर्महरू, ठेगाना नभएका फर्महरु,बाललिकाको फोटो,कार्टूनको फोटो , घरको फोटो ,बास्केट बल खेलेको फोटोहरू लगायतका प्रोफाईल पिक्चरमा राखिएका सदस्यता आवेदनहरु समेत प्रमाणिकरण गरिएको छ ।

त्यस्तै, निर्वाचनलाई नै प्रभावित पार्ने किसिमका एकै प्रकारका ईमेलहरु लगायतका थुप्रै नियम विपरित आएका फर्महरू प्रमाणीकरण गर्ने कार्य भएकोले संघको विधान र नियमावली मिचेर अवैधानिक रुपमा प्रमाणीकरण भएका सबै सदस्यता फर्महरूलाई बिना शर्त रद्ध गर्न म जोडदार माग गर्दछु । 

यसरी सदस्यता लिने प्रकृयादेखि नै नियमविपरित र अवैधानिक गतिविधिहरु हुनुले आगामी अधिवेसन र निर्वाचनमाथि नै शंका उत्पन्न हुने अवस्था बनेको छ। यस्ता कार्यहरुबाट निर्वाचन प्रकृयालाई नै प्रभावित हुने र निश्पक्ष निर्वाचन हुनेमा गम्भिर आशंका उत्पन्न भएकोले बेलैमा सम्बन्धित सबैको ध्यान पुगोस भन्दै ध्यानाकर्षण गराउन चाहन्छु।

सदस्यता प्रमाणीकरणमा नियमविपरित भएका प्रमाणहरू मसँग सुरक्षित छन । सम्बन्धित निकायमा ती प्रमाणहरु पठाइसकेको छु, आवश्यक परेमा म जुनसुकै बेला सार्वजनिक गर्न तयार छु । सदस्यता प्रमाणीकरण जस्तो गम्भिर र संवेदनशील प्रक्रियामा समेत नियम मिचेर, षड्यन्त्रपूर्ण तरिकाले गरिएका कर्तुतहरू लुकाउनकै लागि प्रमाणिकरणको प्रक्रियामा अन्य उम्मेद्वारहरुलाई समावेश गर्ने तर मलाई मात्रै बन्चित गर्ने गरिएको रहेछ भन्ने अहिले प्रमाणित भएको छ ।

सदस्यता प्रमाणीकरणका लागि मलाई अन्तिम १ दिन को लागि मात्र अवसर दिइएको बेला मैले यी सबै अनियमित कार्यका प्रमाणहरू संकलन गर्ने मौका पाएको थिए ।

यसरी नियमविपरित प्रमाणीकरण गरिएका सदस्यहरुबाट चुनाव गराउंदा चुनाव निश्पक्ष र स्वतन्त्रत हुन सक्दैन भन्ने कुरामा अब कुनै दुई मत छैन । म यसरी बनाइएका  सबै सदस्यहरूलाई १ हप्ताको समय दिएर प्रोफाईल पिक्चर परिवर्तन गराएर गल्ती सच्याउने  मौका मिलाउन जोडदार माग गर्दछु । तर त्यसो नगरी बलपूर्वक नियम मिचेरै  निर्बाचनमा सहभागी गराउने कार्य गरिए म यो गलत र अवैधानिक कार्यविरुद्ध सबै बाटो र माध्यमहरुबाट लड्दै  बेलायती अदालतको ढोका ढक्काउन सम्म बाध्य हुने जानकारी गराउंछु ।  यस सम्बन्धमा मैले १ हप्ता अगावै गैरआवासीय नेपाली संघ बेलायत, संरक्षक परिषद, निर्वाचन समिती २०२१, गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिति लगायतलाई जानकारी गराइसकेको भएपनि हालसम्म कुनै प्रतिक्रिया नआएको हुँदा यसबाट निर्वाचन प्रक्रियमा कुनै असर पर्न गएमा संबन्धित पक्ष नै जवाफदेही हुनेतर्फ सचेत गराउन चाहन्छु । 

धन्यवाद  

भवदीय

दीपक कुमार श्रेष्ठ

अध्यक्षका प्रत्याशी उम्मेदवार

गैर आवासीय नेपाली संघ युके

०८ जुलाई २०२१