दुईवटा फ्लाइटपछि मात्र अरु उडानबारे सोच्ने छौं: राजदूत दाहाल

तक्दीर अधिकारी
सिड्नी । कोभिड– १९ को संक्रमण नफैलियोस भनेर नेपाल सरकारले लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपाली स्वदेश फर्कन पाएका थिएनन् । उनीहरुलाई सरकारले गत जुन ५ तारिखदेखि स्वदेश फर्काउन थालेको छ । सरकारले तय गरेको समय तालिकाअनुसार सिड्नीबाट जुन २३ र मेलवर्नबाट जुन २७ तारिख अस्ट्रेलियामा रहेका नेपाली दुईवटा फ्लाइटमा स्वदेश फर्काइदै छ ।

नेपाली नागरिकलाई फर्काइने सम्पूर्ण तयारी पूरा भएको अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले जानकारी दिए । राजदूत दाहालका अनुसार पहिलो फ्लाइटमा प्राथमिकतामा परेका सिड्नी र पर्थमा रहेका नेपालीहरु फर्किने छन् । नेपाल फर्कनेले एक साताभित्र कोभिड–१९ टेस्ट गरेको र रिजल्ट नेगेटिभ आएको रिपोट पेस गरेका छन् । कोभिड–१९ को नेगेटिभ रिजल्ट भएकाहरु होटलको कोरेन्टाइनमा बस्नु पर्दैन, उनीहरु होम कोरेन्टाइनमा पनि बस्न सक्छन् ।

अस्ट्रेलियाबाट फर्केपछि उनीहरुको नेपालमा पनि स्वास्थ्य जाँच हुन्छ । अस्ट्रेलिया र नेपालमा स्वास्थ्य जाँच हुनेछ । राजदूत दाहालका अनुसार रिर्पोटले जे भन्छ, त्यसपछि उनीहरुलाई होटल वा होम क्वारेन्टाइन कहाँ राख्ने हो, त्यसको निर्णय हुन्छ ।

सिड्नी र मेलवर्नको दुईवटा फ्लाइटबाट ५ सय २० जना नेपाल फर्किने जानकारी दिँदै राजदूत दाहालले भने, ‘त्यसपछि अझै ९ सय जना जति नेपाल फर्कनलाई फर्म भरेकाहरु बाँकी रहन्छन् । दोस्रो चरणमा दुईवटा फ्लाइटपछि मात्र उनीहरुको नेपाल फिर्ताबारे थाहा हुन्छ ।’

‘बाँकी रहेका नेपालीलाई नेपाल फर्काउन नेपालबाटै विमान झिकाउने अथवा यहीबाट चार्टर गरेर लैजाने त्यसबारे पनि कुनै निर्णय भएको छैन, राजदूत दाहालले भने, ‘दुईवटा फ्लाइटपछि मात्र अरु उडानबारे सोच्ने छौं। यो दुईवटा फ्लाइटमा अति समस्यामा परेकाहरुलाई पठाइहालौं भन्ने सोच हाम्रो हो । सरकारले पनि तत्काललाई नेपाल एयरलाइन्सको दुईवटा फ्लाइट मात्र तोकेको छ । यो दुईवटा फ्लाइट गएपछि मात्र बाँकी कुरा अघि बढ्छ ।’

८–९ सय डलर पर्नेको टिकटलाई तेब्बर लिएको छ नि भन्ने जिज्ञासामा राजदूत दाहालले भने, ‘सरकारले जे प्रावधान बनायो, त्यही मात्र हो, त्यसबारे बोल्न हामीलाई कुनै छुट छैन ।’