लन्डन । बेलायतस्थित University of Roehampton अन्तर्गतको Roehampton Nepali Society को आयोजनामा नेपाली महिलाहरूको महान् सांस्कृतिक पर्व तीजलाई केन्द्रमा राख्दै विशेष तीज उत्सव भव्य रूपमा सम्पन्न भएको छ।
विश्वविद्यालय परिसरमा आयोजित कार्यक्रममा नेपाली विद्यार्थी, स्थानीय समुदाय तथा विभिन्न अतिथिहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमले बेलायतको शैक्षिक वातावरणमै नेपाली संस्कृति, परम्परा र मौलिकतालाई प्रभावकारी रूपमा प्रस्तुत गर्नुका साथै नेपाली विद्यार्थीहरूबीच आपसी एकता र सामुदायिक भावना अभिवृद्धि गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।
कार्यक्रममा अध्ययनरत नेपाली विद्यार्थीहरूले विविध सांस्कृतिक, सांगीतिक तथा नृत्य प्रस्तुतिहरू दिएका थिए। तीजका मौलिक गीत–संगीत, सामूहिक नृत्य तथा अन्य मनोरञ्जनात्मक प्रस्तुतीहरूले दर्शकलाई नेपाली कला र संस्कृतिसँग जोड्न सफल भएका थिए। साथै कार्यक्रममा नेपाली परिकार र सांगीतिक वातावरणको पनि व्यवस्था गरिएको थियो।
नेपालमा हालै आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै कार्यक्रमलाई ‘Teej for Nepal’ अभियानसँग जोडिएको थियो। कार्यक्रमको सुरुवात विपत्तिमा ज्यान गुमाएकाप्रति मौनधारण तथा श्रद्धाञ्जली अर्पण गर्दै गरिएको थियो भने त्यसपछि विद्यार्थीहरूले विशेष सांगीतिक प्रस्तुति दिएका थिए।
कार्यक्रमबाट करिब £५०० (झण्डै १ लाख रुपैयाँ) रकम संकलन भएको छ। उक्त सहयोग रकम नेपाल सरकारको प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष (PMDRF) मा पठाइएको आयोजकले जनाएको छ। रकम हस्तान्तरणको प्रमाणसमेत सार्वजनिक गरिएको छ।
कार्यक्रम सफल बनाउन सन्तोष साह, गौतम बीके र रोशन धामीले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। त्यस्तै प्रतीक पाण्डे, सबिता लगायतका स्वयंसेवकहरूले व्यवस्थापन, समन्वय तथा अन्य गतिविधिहरूमा महत्वपूर्ण योगदान दिएका थिए।
आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण विद्यार्थी, स्वयंसेवक, कलाकार, अतिथि तथा विश्वविद्यालय परिवारप्रति आभार व्यक्त गरेको छ।
Roehampton Nepali Society ले यस्ता कार्यक्रममार्फत बेलायतमा नेपाली पहिचान, संस्कृति र परम्पराको प्रवर्द्धन गर्नुका साथै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको जनाएको छ। यस कार्यक्रमले विदेशमा रहेका नेपाली विद्यार्थीहरूको मानवीय संवेदना र सामुदायिक एकताको प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।






