६३ स्थानको नतिजा आयो, कांग्रेसको दोब्बर अग्रता, एमाले पाँचौं

काठमाडौँ – प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको जारी मतगणनाका क्रममा कांग्रेसले दोब्बरको अग्रता बनाएको छ । सोमबार भएको निर्वाचनपछि भइरहेको मतगणनाका क्रममा नेपाली कांग्रेसले अहिलेसम्म २१ स्थानीय तहमा जित निकाल्दै अन्य दल भन्दा दोब्बर फराकिलो अग्रता बनाएको हो ।

दोस्रो नम्बरमा भने नेकपा माओवाी केन्द्र रहेको छ । जसले अहिलेसम्म १३ स्थानमा जित निकालिसकेको छ । तेस्रो नम्बरमा संघीय समाजवादी फोरम नेपाल रहेको छ । फोरमले अहिलेसम्म १० वटा स्थानीय तहमा जित निकालेको छ । नौवटा स्थानीय तहमा जित निकाल्दै राष्ट्रिय जनता पार्टी नेपाल चौथो स्थानमा रहेको छ ।

देशको दोस्रो ठुलो शक्ति नेकपा एमाले भने ७ वटा स्थानमा मात्रै जित दर्ता गराउँदै पाँचौ स्थानमा खुम्चिन बाध्य भएको छ ।

अन्य दुईवटा प्रदेशमा पहिलो बन्न सफल नेकपा एमाले अहिलेसम्मको परिणाममा पाँचौ स्थानमा खुम्चिन बाध्य भएको हो । त्यसैगरी विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम नेपालले अहिलेसम्म दुई स्थानमा मात्रै जित निकाल्न सफल भएको छ । अर्कातिर हरिचरण शाह नेतृत्वको नेपाली जनता दलले पनि एक स्थानमा जित दर्ता गराएको छ ।