सभामुखको टोली लन्डन आइपुग्यो

speaker

लन्डन- सभामुख ओनसरी घर्ती नेतृत्वको एक टोली लन्डन आइपुगेको छ ।

आइतबार लन्डन आइपुगेको प्रमुख ४ दलका प्रमुख सचेतकसहितको टोलीलाई बेलायतका लागि कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री, थर्ड सेक्रेटरी बाबुकाजी डंगोल र ब्रिटिश ग्रुप इन्टर पार्लियामेन्ट्री युनियन पदाधिकारीले स्वागत गरेका थिए ।

प्रतिनिधिमण्डलले बेलायतको संसदीय अभ्यासका बारेमा जानकारी लिनुका साथै तल्लो र माथिल्लो सदनका आफ्ना समकक्षीसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।

त्यसै गरि अल्डर्सटस्थित एम्पायर हलमा आज दिउसो १ देखि ३ बजेसम्म अन्तर्क्रिया कार्यक्रम तय भएको एनआरएन यूकेका प्रवक्ता खुशी लिम्बुले जनाए ।

टोली साता लामो बेलायत भ्रमणमा रहनेछ । लन्डन टोलीमा कांग्रेस, एमाले, एमाओवादी र राप्रपा नेपालका प्रमुख सचेतकहरू चिनकाजी श्रेष्ठ, भानुभक्त ढकाल, हितराज पाण्डे र दिलनाथ गिरी छन् । त्यस्तै, संसदका महासचिव मनोहरप्रसाद भट्टराई र सचिव मुकुन्द शर्मा समेत टोलीमा छन् ।

संसदीय अध्ययन र सद्भावना भ्रमणका क्रममा सभामुख घर्ती नेतृत्वको टोली लन्डन आएको हो । टोली साता दिनपछि फर्कने सभामुख घर्तीका स्वकीय सचिव सुरजकुमार दुराले जानकारी दिए ।