काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको परिणामबाट बिचलित नहुन पार्टीका नेता कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।
अध्यक्ष ओलीले कुनै ठाउँ विशेषको निर्वाचन परिणामको विषयलाई लिएर पार्टी भित्र दोषारोपणको राजनीति सुरु गर्न नहुनेतर्फ पनि सचेत गराउनुभयो । शुक्रबारबाट सुरु भएको पार्टी केन्द्रीय कमिटीको ८ औं बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एक्लै भिड्न नसक्ने भएपछि प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा अन्य सबै दलले एमालेविरुद्ध मोर्चाबन्दी गरेकाले केही कमजोर देखिएको उल्लेख गर्नुभयो ।
अध्यक्ष ओलीका विगतका अभिव्यक्तिले पनि प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन परिणाम कांग्रेसको भन्दा कमजोर भएको पार्टी भित्रै चर्चा सुरु भइरहेका छन् ।
सोही प्रसंग उल्लेख गर्दै अध्यक्ष ओलीले चुनावी परिणामलाई लिएर पार्टी भित्र दोषारोपण नगर्न पार्टीका सबै नेता कार्यकर्तालाई सचेत गराउनुभएको हो । उहाँले प्रदेश नम्बर २ को कतिपय स्थानीय तहमा अन्य दलहरुले धाँधली गर्नाले पनि पार्टीले हार व्यहोर्नु परेको पनि स्मरण गराउनु भयो । अध्यक्ष ओलीले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन पछि एमालेले बहुमतका साथ सरकार बनाउने दावी पनि गर्नु भयो ।






