सिड्नी। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) एनएसडब्ल्यु अष्ट्रेलियाको आयोजनामा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसर पारेर विशेष कविता महोत्सव सिड्नीमा सम्पन्न भएको छ।नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले जुलाई ११ मा रिभरवुडस्थित पिकहर्स्ट पार्क कम्युनिटी सेन्टरमा आयोजना गरिएको कार्यक्रममा अष्ट्रेलियाका विभिन्न स्थानबाट साहित्यकार, कवि, साहित्यप्रेमी तथा नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अनेसास एनएसडब्ल्युकी अध्यक्ष भावना पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रम आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण तथा श्रद्धाञ्जली अर्पण गर्दै सुरु गरिएको थियो। कार्यक्रमको सञ्चालन महासचिव नगेन्द्र भट्टराई, सचिव नेत्रप्रसाद पौडेल र कार्यसमिति सदस्य महिमा दीप फुल्लेलले गरेका थिए।कार्यक्रममा वरिष्ठ साहित्यकार डा. गार्गी शर्मा, गणेश घिमिरे, बेदकुमारी न्यौपाने तथा अनेसास एनएसडब्ल्युका पूर्व अध्यक्षहरू सानु घिमिरे, ममता तिवारी, महेश्वर शर्मा र डा. प्रकाश पौडेललगायत साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको विकास तथा विस्तारमा पुर्याएको योगदानको स्मरण गरेका थिए। संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरी सर्वसाधारणसम्म पुर्याउन भानुभक्तले निर्वाह गरेको ऐतिहासिक भूमिकाको चर्चा गर्दै उनीहरूले नेपाली भाषा र साहित्यप्रति भानुभक्तको योगदान नयाँ पुस्तासम्म पुर्याउनुपर्ने बताएका थिए।
विशेष कविता महोत्सवअन्तर्गत आयोजित कविता गोष्ठीमा ३० भन्दा बढी साहित्यकार तथा कविहरूले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए। कार्यक्रममा सानु घिमिरे (सानु प्रेम ज्योत्सना), ऋचा गौतम र गणेश घिमिरेको विशेष काव्य प्रस्तुति रहेको थियो। अवसरमा प्रस्तुत गरिएको ‘चिया डेट’ शीर्षकको सिर्जनात्मक काव्य प्रस्तुतिले दर्शकको विशेष ध्यान खिचेको थियो। प्रस्तुतिमा सानु घिमिरे (सानु प्रेम ज्योत्सना) ‘चिया डेटमा आएकी केटी’, ऋचा गौतम ‘चिया’ तथा गणेश घिमिरे ‘चिया डेटमा आएका युवक’को भूमिकामा प्रस्तुत भएका थिए। कार्यक्रममा भानुभक्त आचार्यद्वारा अनुवादित रामायणका केही अंशसमेत वाचन गरिएको थियो।कार्यक्रमका अवसरमा अष्ट्रल नेपाली अभिभावक समाजका तर्फबाट नेपाली भाषा तथा साहित्यप्रति समर्पित पाँच जना महिला साहित्य अनुरागीहरूलाई सम्मान तथा धन्यवाद व्यक्त गरिएको थियो।
कार्यक्रममा डा. प्रकाश पौडेल, भावना पराजुली, ममता तिवारी, सानु घिमिरे, श्वेता मैनाली, बेदकुमारी न्यौपाने, गणेश घिमिरे, ऋचा गौतम, जितेन्द्र मल्ल, बालकृष्ण बस्याल, डा. राजु मानन्धर, नेत्र पौडेल, दयाराम सिम्खडा, कृष्णबहादुर कर्माचार्य, चतुर्भुज खरेल, डा. गार्गी शर्मा, निष्प्रभा साजी, हेउपति गुरुङ, महेश्वर शर्मा, राम कोइराला, रामबहादुर थापा, डा. मधु पुडासैनी, महिमा दीप फुल्लेल, नगेन्द्र भट्टराई, अम्बिका बस्नेत, सबिना फाइजु, राधा अधिकारी र मंगला श्रेष्ठलगायत स्रष्टा तथा साहित्यप्रेमीहरूको सहभागिता रहेको थियो।
कार्यक्रम सफल बनाउन डोमिनोज पिज्जा लिभरपुलका राजु अधिकारी, बुद्ध ट्राभल एण्ड टुर मेलबर्नका भीम न्यौपाने, मल्टी डाइनामिक रियल इस्टेटका मेघराज पौडेल तथा जय हो हेयर एण्ड ब्युटीकी शोभा पण्डित अधिकारीले आर्थिक सहयोग गरेका थिए। आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रायोजकहरूप्रति आभार व्यक्त गरेको थियो।
त्यसैगरी कार्यक्रम व्यवस्थापनमा अनेसास एनएसडब्ल्युका संस्थापक उपाध्यक्ष ऋषि आचार्य तथा फोटो र भिडियोमार्फत सहयोग गर्ने सुमन पाण्डेको योगदानप्रति पनि आयोजकले धन्यवाद व्यक्त गरेको थियो। अनेसास एनएसडब्ल्युले प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा संवर्द्धनसँगै नयाँ पुस्तालाई नेपाली साहित्यसँग जोड्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता साहित्यिक गतिविधिलाई निरन्तरता दिने जनाएको छ।






