सत्तारुढ दलका सांसदको प्रश्न : किन हजारौँको मृत्युको कारण बन्दै छन् स्वास्थ्यकर्मीहरु ?

काठमाडौं– सत्तारुढ दलका सांसदले सरकारलाई चौतर्फी घेराबन्दी गर्ने काम भइरहेको भन्दै त्यसतर्फ गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकको शुन्य समयमा बोल्दै नेकपाका सांसद खगराज अधिकारीले शान्ति सुरक्षा र अमन चैनका लागि सरकारले हरसंभव प्रयास गरिरहेका बेला सरकारमाथि नै सबै प्रकारका घेराबन्दी भइरहेको भन्दै सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए ।

विकास निर्माण लगायत काममा पनि सरकार अघि बढिरहेका बेला संघीयता नै खतरामा पार्ने गरी विभिन्न क्षेत्रबाट सरकारलाई घेराबन्दी गर्ने काम भईरहेको उनको दाबी थियो । सरकारमाथि भइरहेका विभिन्न किसिमका घेराबन्दीले आफुलाई १७ सालदेखिको राजनीतिक इतिहासको सम्झना आएको भन्दै उनले मुलुकी फौजदारी दण्डसंहिता स्वास्थ्यकर्मीको कसुरको सम्बन्धमा मुलुकभर स्वास्थ्य सेवा बन्द गरिएको तर्फ स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए ।

‘कानुन मिच्न किन उद्ध्त बनाइँदै छ ? किन हजारौँको मृत्युको कारण बन्दै छन् स्वास्थ्यकर्मीहरु ? किन स्वास्थ्य मन्त्रालयले आफ्ना खाली रहेका १२ औँ तहका पदपुर्ति गर्न पहल गर्दैन ? हड्तालका आयोजकहरुलाई स्वस्थ्य मन्त्रालयको तालाचाबी दिइँदै छ ?,’ सांसद अधिकारीको प्रश्न छ ।

सुन्य समयमा बोल्ने अन्य सांसदहरुले आ–आफ्नो क्षेत्रको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद अतहर कमाल मुसलमानले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल सम्पन्न गरी अलपत्र अवस्थामा रहेको लुम्बिनीदेखि भैरहवा विमानस्थल हुँदै कृष्णनगर सम्म जोड्ने हुलाकी सडक निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद आशा कुमारी विकले बझाङ जिल्लाको एउटा नगरपालिका र ७ गाउ पालिकामा अझै पनि बैकिङ सुविधा नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद उमा रेग्मीले राष्ट्रिय पोशाकका रुपमा पुरुषलाई दौरा सुरुवाल र महिलालाई साडीको व्यवस्था सरकारले अचानकै हटाएको भन्दै राष्ट्रिय पोशाक कायम गर्न माग गरिन् ।