फेन्का न्यू साउथ वेल्सद्वारा देउसी भैलो तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सिड्नी । नेपालीहरुको महान चाड शुभ दीपावली, नेपाल संवत् ११४६ र छठ पर्वको अवसरमा  फेन्का साउथ वेल्स  र सिड्नीस्थित नेपाली वाणिज्य दूतावासको सहकार्यमा देउसी–भैलो तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको हो।

२२ अक्टोबर बुधबार सिड्नीस्थित नेपाली महावाणिज्य दूतावासमा सम्पन्न उक्त कार्यक्रममा फेन्काका संरक्षक उमेश पन्तको अध्यक्षता, न्यू साउथ वेल्थका अवैतनिक महावाणिज्यदूत सञ्जीव शर्माको प्रमुख आतिथ्य र फेन्का एक्शन टिमका सदस्य चिरन तिवारीको सञ्चालन रहेको थियो।

कार्यक्रमको सुरुवातमा फेन्काका कोअर्डिनेटर मुक्तिराम पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको उद्देश्य नेपालको सांस्कृतिक, सामाजिक र धार्मिक परम्पराको संरक्षण तथा दोस्रो पुस्तामा त्यसको जगेर्ना र चेतना अभिवृद्धि गर्ने रहेको बताए।मुख्य अतिथि सञ्जीव शर्माले शुभकामना मन्तव्य दिँदै फेन्का न्यू साउथ वेल्थले समुदायबीच सहकार्य, जनजागरण र सांस्कृतिक पहिचानको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए। उनले आगामी दिनमा फेन्का लगायत अन्य समुदायसँग मिलेर सामुदायिक हितका कार्यहरू अघि बढाउने प्रतिबद्धता समेत जनाए।

कार्यक्रममा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूले आ–आफ्ना धारणा राखेका थिए। उपस्थित वक्ताहरूमा ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चर सेन्टरका अध्यक्ष विष्णु हमाल, समाजसेवी इन्द्रा वन, एनआरएनएका पूर्व उपाध्यक्ष देव गुरुंग, एनआरएनए न्यू साउथ वेल्थका सचिव प्रताप पन्थी, एन्जाका महासचिव तथा पत्रकार गणेश भट्ट, तराई मधेश असोसिएसनका पूर्व अध्यक्ष सुभाष शाहा, तमु समाज अष्ट्रेलियाका अध्यक्ष हियुपति गुरुङ, अनेसास सिड्नी च्याप्टरका निर्वतमान अध्यक्ष ममता तिवारी, आरएसएनएका अध्यक्ष दिवाकर काफ्ले, उल्लघन नेपाली समुदायका अध्यक्ष नारायण प्रसाद चापागाईं, ब्रिज द ग्याप नेपालका सल्लाहकार शिव श्रेष्ठ, साउथ वेल्थ नेप्लिज कम्युनिटीका अध्यक्ष चर्तुरभुज खरेल लगायतका सामुदायिक व्यक्तित्वहरू रहेका थिए।

कार्यक्रमको अन्त्यमा अध्यक्ष उमेश पन्तले सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै फेन्कालाई अझ सशक्त र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले समुदायबीच सहकार्य, समन्वय र मानव स्रोत विकासमार्फत सशक्तिकरणका कार्यहरू निरन्तर अघि बढाइने बताए।

सन् २०१८ अगस्टमा अष्ट्रेलियामा स्थापना भएको फेन्का  हाल नेपाली सामाजिक संघ–संस्थाहरूको साझा संयन्त्रको रूपमा कार्यरत छ। हाल अष्ट्रेलियाभर करिब १०० भन्दा बढी नेपाली संघ–संस्थाहरू फेन्कामा आवद्ध छन्, जस मध्ये न्यू साउथ वेल्थमा ४४ संस्था सक्रिय रूपमा कार्यरत रहेको  छ।