सिड्नीमा मैत्रीपूर्ण फुटबल : पत्रकार, कलाकार, व्यवसायी र समाजसेवी एकआपसमा भिड्दै

तक्दीर अधिकारी
सिड्नी । अष्ट्रेलियाको सिड्नीमा फ्रेन्डसिफ कप २०२० सञ्चालन हुँदैछ । कोभिड १९ महामारीको कारण आइसोलेटेड मानिसहरुलाई नजिक ल्याउने तथा मानसिक तनावमा रहेका मानिसहरुलाई फाइदा पुर्याउने उद्धेश्य सहित मैत्रीपूर्ण फुटवल आयोजना गरिएको हो । आउने १३ डिसेम्बर गते आइतवारको दिन विहान १० देखि ४ बजेसम्म एशफिल्ड पार्कमा कार्यक्रम हुनेछ । प्रतियोगीतामा पत्रकार, समाजसेवी, व्यवसायी र कलाकारहरुको ४ समूहवीच प्रतिस्पर्धा हुनेछ । सहभागि हुने खेलाडी समूहको लागि विधागत रुपमा संयोजक चयन गरिएको छ । पत्रकारको संयोजकमा हेमन्त काफ्ले, कलाकारहरुको संयोजक दिल तामाङ्ग, समाजसेवीहरुको संयोजकमा नन्द गुरुङ्ग तथा व्यवसायीहरुको समूह संयोजकमा पिआर अधिकारी रहेका छन् । एक समूहमा १५ जना खेलाडी सहभागि हुने र उनीहरुलाई जर्सीको व्यवस्था आयोजकले नै गर्ने लाहुरी टिभीका प्रबन्धक जीवन डीसीले बताए । जसमा पहिलो हुने टिमले एक बोका तथा दोस्रो हुनेले लोकल कुखुरा पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिता हेर्न चाहने दर्शकलाई शुल्क लाग्ने छ । कोभिड १९ महामारीको कारण संकटमा परेको नेपालीहरुलाई खुलामााञ्चमा खाना खुवाउने कार्यक्रम गरिरहेको एक्सन सोसियल च्यालेन्ज नामक संस्थालाई सहयोग गर्ने उद्धेश्य सहित प्रतियोगिता गरिएको डीसीले बताए । कार्यक्रममा संकलित रकम उक्त संस्थालाई प्रदान गरिनेछ । कोभिडको समयमा च्यारिटी डिनरको आयोजना गर्नु भन्दा यसरी मैत्रीपूर्ण फुटवल आयोजना गरी अर्थ संकलन गर्नु मनासिब हुने ठानी प्रतियोगिता गर्न लागिएको समाजसेवी तथा एनआरएनए अष्ट्रेलियाका नन्न गुरुङ्गले बताए ।
प्रतियोगितामा आर्थिक सहयोग एभरेष्ट बुचरीले गरेको छ । लाहुरी टिभीले यस परिस्थितीमा आयोजना गरेको कार्यक्रम समयसामयिक लागेर सहयोग गरेको बुचरीका सञ्चालक म्याक्स बाबुले बताए ।