लन्डन ।बेलायतको विनचेस्टर सिटीमा नेपालीको लगानीमा‘कवि कफी’व्यवसाय सुरु गरेका छन् ।बेलायतका लागि नेपाली पर्यटन दूत एवं काउन्सिलर धन सार्की र ‘यूके लाट्टे आर्ट च्याम्पियनसीप’ मा लगातार ६ वर्ष विजेता धन तामाङले वीनचेस्टरमा ‘कवि कफी’ सप खोलेका हुन्।

सञ्चालक धनद्वयको व्यापारिक साझेदारीमा वीनचेस्टर केन्द्रमा खुलेको ‘कवि कफी’ शुक्रबार स्थानीय मेयर रसेल गोर्डन स्मिथले रिबन काटेर उद्घाटन गरेका हुन् ।उद्घाटन गर्दै मेयर स्मिथले बधाई तथा शुभकामना दिंदै आफ्नो क्षेत्रमा नयां व्यवसाय स्थापना हुंदा यसले रोजगारी समेत सृजना गर्ने बताए ।

मेयरले लाट्टे आर्ट च्याम्पियन धन तामाङबारे आफूले धेरै पहिलेदेखि थाहा पाएको र गुगल सर्च गरि उनको पुस्तकको कपी नै प्रिन्ट गरेर ल्याएको बताउंदै आज धनकै व्यवसाय उद्घाटन गर्न पाउंदा ज्यादै खुशी लागेको बताए ।करिब ५ लाख पाउण्ड लगानीमा खुलेको १५० सिट क्षमताको उक्त सपमा कफीसंगै इंग्लिस खाना, मःम र चिसो पेय पदार्थ उपलब्ध छन् । तीन तल्ले उक्त व्यापारिक भवनमा बारिस्टा प्रशिक्षण स्कुल समेत शुरु गरिएको छ ।
कफीको इन्टरनेशनल फ्रेन्चाइज कोस्टा वा स्टारबक्सकै हाराहारीमा पुग्ने आफूहरुको लक्ष्य रहेको सञ्चालकमध्ये एक सार्कीले बताए । लक्ष्मीप्रसाद देवकोटा कविको उपल्लो दर्जा महाकविका नामबाट विश्वभर फैलिएकाले उनकै उचाईंमा पुरयाउन कवि कफी नाम जुराइएको सार्कीले बताए । व्यवसायी सार्कीले नेपालमा समेत बारिस्टा प्रशिक्षण दिने उद्देश्यले कवि कफी स्कुल दर्ता भइसकेको पनि जनाए । नेपालमा उत्पादित कफी बेलायत ल्याएर विक्री गर्ने योजना समेत उनको छ ।

बेलायतका लागि नेपाली पर्यटन दूत समेत रहेका सार्की भूतपूर्व ब्रिटिश गोर्खा एवं लामो समय एनआरएन अभियानमा लागेका अभियन्ता हुन्। उनको यस व्यवसाय खोल्नुअघि अल्डरसटमा पोष्ट अफिससंगै क्याफे थियो ।
यसै गरि धन तामाङ झण्डै दुई दशकदेखि बारिस्टा एवं व्यवसायी हुन् । उनका कफी सम्बन्धि अन्तर्राष्ट्रिय स्तरका पुस्तकहरु समेत प्रकाशित छन् भने उनी कयौं विश्वप्रसिद्ध कम्पनीका ब्राण्ड एम्बासडर पनि हुन् । उनले कफी बारिष्टाको प्रशिक्षण समेत दिंदै आएका छन् ।
कफी सप उद्घाटन अघि नेपाली पण्डित पवन दाहालले पूजापाठ गरेका थिए । सो अवसरमा वीनचेस्टर सिटी काउन्सिल लिडर काउन्सिलर मार्टिन टोड, काउन्सिलर जोन टिप्पेट् कुपरलगायत स्थानीय सहभागी थिए । उद्घाटनपछि सहभागी अतिथीहरु कफी र खानाको स्वाद ग्रहण गर्न व्यस्त रहे ।उक्त कफीसपमा १८ जना कर्मचारीले रोजगारी पाएका छन्।







