काठमाडौं, ४ आषाढ । भारतविरुद्धको पहिलो एकदिवसीय क्रिकेट खेलमा ७९ रनको फराकिलो जित निकाल्दै बंगलादेशले तीन खेलको श्रृंखलामा १–० को अग्रता लिएको छ । बंगलादेशको मिरपुरमा विहीबार राति सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले अन्तिम ओभरमा अलआउट हुनुपूर्व ३ सय ७ रनको योगफल तयार गर्यो । बंगलादेशका लागि तमिम इकबालले ६० तथा सौम्य सरकारले ५४ रनको योगदान गरे । भारतका रविचन्दन आश्विनले ३ विकेट लिए ।
जवाफमा ३ सय ८ रनको विजयी लक्ष्य लिएर मैदान उत्रेको भारतीय टोली ४६ ओभरमा २ सय २८ रनमै समेटियो । रोहित शर्माले ६३ तथा सुरेश रैनाले ४० रन जोडे पनि टोलीलाई जिताउन सकेनन् । बलिङतर्फ पहिलो एक दिवसीय खेल खेलेका मुस्तफिजुर रहमानले ५ विकेट लिँदै भारतको हार पक्का गरे । श्रृंखलाअन्तर्गतको दोस्रो एक दिवसीय खेल आगामी आइतबार ढाकामा हुनेछ ।
भारतलाई बंगलादेशले हरायो






