भरत पाण्डेय
काठमाडौं । वैदेशिक रोजगारीेका लागि तीन महिनाभित्र नयाँ गन्तव्यको खोजी गरिने भएको छ। वैदेशिक रोजगार विस्तार तथा व्यवस्थापन गर्न गठित उच्चस्तरीय समितिले तीन महिनाभित्रमा ५ वटा नयाँ आकर्षक गन्तव्य मुलुक खोज्ने भएको हो।
पुसको दोस्रो साता पूर्णता पाएको उच्चस्तरीय समितिले अब नयाँ गन्तव्य मुलुक खोज्ने कामलाई तीव्रता दिने गरी कार्यक्रम बनाएको समितिका संयोजक डा. हरि लम्सालले बताउनुभयो। ‘पहिलो चरणमा कम्तिमा पाँचवटा सम्भाव्य मुलुक खोज्ने काम तीन महिनाभित्र हुन्छ,’ उहाँले भन्नुभयो। त्यसका लागि अर्को हप्तादेखि गैरआवासीय नेपाली संघ, वैदेशिक रोजगार व्यवसायी संघ, ट्रेड युनियन, वैदेशिक रोजगार विज्ञ, कुटनीतिक नियोग, एनआरएनसँग छलफल गरेर सम्भाव्य देश पहिचान गर्ने उहाँले बताउनुभयो। ‘त्यसपछि सम्भाव्य लागेका देशका सरकारी निकाय र हाम्रो देशको सरकारी निकायसँग छलफल गरेर सरकारी प्रक्रियाका लागि पहल गर्छौ’, लम्सालले भन्नुभयो– ‘सम्भावित मुलुकका लागि आवश्यक जनशक्ति र हाम्रो देशबाट जाने जनशक्तिको सीपको विषयमा छलफल गरी तालिमसमेत दिएपछि बाहिर पठाउने प्रक्रिया शुरू हुन्छ।’
उहाँले तत्काल कार्यतालिका बनाएर तीन महिनाभित्रमा काम सम्पन्न गर्ने बताउनुभयो। पहिलोपटक गठन भएको यो समितिले तीन महिनाभित्र सम्पन्न गर्ने गरी विदेश जान चाहनेको लगत संकलन गर्ने, तथा वैदेशिक रोजगारीमा गएका नेपालीले भोगेका समस्या पहिचान गरी साधानका लागि पनि पहल गर्ने समेत योजना बनाएको छ।
वैदेशिक रोजागरीमा जान चाहने नेपाली नागरिकको सीप दक्षता, योग्यता, उमेरलगायतका विवरणसहितको तथ्यांक संकलन गर्ने काम पहिलो चरणमा शुरू गर्ने समितिको कार्ययोजना छ। अहिलेसम्म कस्तो कस्ता जनशक्ति विदेश जान चाहेको छ भन्ने विषयमा जानकारी नभईकन नयाँ गन्तव्य मुलुक खोजे पनि समस्या हुने भएकाले पहिलो चरणमा विदेश जान चाहनेको लागत संकलन गरिने उच्चस्तरीय समितिका संयोजक डा. लम्सालले बताउनुभयो।
‘नयाँ गन्तव्य त खोज्ने तर कस्तो जनशक्ति जाँन चाहन्छ भन्ने विषयमा केही जानकारी नै छैन,’ उहाँले भन्नुभयो–‘त्यसैले अहिले धेरै विदेश जाने १० वटा जिल्लामा विदेश जान चाहनेको सीपसहितको विवरण संकलन गर्ने काम गरिन्छ।’ शुरूका तीन महिनामा नमुनाका लागि बढी विदेश जाने १० जिल्लामा यो काम शुरूआत गरे पनि दीर्घकालका लागि देशभरबाट विदेशजान चाहनेको सीपसहितको तथ्यांक संकलन गर्ने समितिले जनाएको छ।
त्यसैगरी समितिले नेपाली काम गर्न गएका विदेशी मुलुकमा नेपालीले भोग्ने गरेका समस्या र समाधानका लागि समेत उपाय खोज्न लागेको जनाएको छ। बढी नेपाली श्रमिक भएका मुलुकहरू साउदी अरब, मलेसिया र कतारमा नेपाली श्रमिकलाई कसरी बढी सुरक्षित गर्न सकिन्छ भन्ने विषयमा वैदेशिक रोजगारीबाट फर्किएका नेपालीको वैदेशिक रोजगारीप्रतिको दृष्टिकोण, उनीहरूले विदेशमा भोग्नुपरेका साझा समस्याको पहिचान गरी निराकरणका उपायबारे अन्तत्र्रिmया गर्ने समितिको योजना छ।
त्यसैगरी विदेशमै काम गरिरहेकाहरूसँग पनि पुगेर समस्याको पहिचान गरी समस्या समाधानका लागि सम्बन्धित मुलुकका निकाय र नेपालको सरकारी निकायसँग छलफल गरी निचोड अनुसार समस्या समाधानका लागि पहल गरिने समितिले जनाएको छ।
धेरै कमाई हुने आकर्षक श्रम गन्तव्य तीन महिनाभित्र खोजीने






