स्वं पत्रकार टिका कार्की स्मृति कप भलिबल प्रतियोगीताको उपाधि सनराईजले जित्यो

सिड्नी । बागलुङ समाज अस्ट्रेलियाले स्वं पत्रकार टिका कार्कीको सम्झनामा आयोजना गरेको दोश्रो टिका कार्की स्मृति कप भलिबल प्रतियोगीता सम्पन्न गरेको छ ।

समाजले अस्ट्रेलियन नेसनल स्पोर्ट्स क्लवमा मार्च १२ तारिख आईतबार प्रतियोगीता सम्पन्न गरेको हो ।

१० समुहको सहभागीता रहेको प्रतियोगीतामा सनराईज युथ क्लब अष्ट्रेलियाले उपाधि जित्दै नगद २२ सय डलर ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ ।

बिहान ८ बजेदेखि सुरु भएको प्रतियोगीता बेलुकी ९ बजेसम्म चलेको थियो । नकआउट सिस्टममा सञ्चालित प्रतियोगीतामा प्रिक्वाटर, क्वाटर फाईनल, सेमिफाईनल र फाईनलका खेलहरु सम्पन्न भएको समाजका अध्यक्ष विकास सापकोटाले जानकारी दिए ।

कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङ, नेपाली समाजका अगुवा तथा एनआरएनए अभियान्ता ईन्द्रा बन, एनआरएनए अस्ट्रेलियाका संस्थापक अध्यक्ष तथा केन्द्रीय पूर्व अध्यक्ष मन केसी लगायतका विशिष्ट व्यक्तिहरु सहित झण्डै १ हजार जनाको सहभागीता रहेको थियो ।

कार्यक्रमलाई एनआरएनए अभियान्ता तथा युवा व्यवसायी डिला खरेलको व्यवसाय ईन्नोभेटिभ एशोसियट्सले टाईटल स्पोन्सर गरेको थियो । भने प्लाटिनम स्पोन्सरमा एएलडी कर्पोरेट, बिएनबी होम लोन र बुद्ध ट्राभल्स एण्ड टुर्स रहेका थिए । प्रतियोगीतालाई अस्ट्रेलियामा रहेका अन्य आधा दर्जन व्यवसायिक सघंसंस्थाले प्रायोजन गरेका थिए ।

सन् १९७६ मा जन्मिएका कार्कीको २०२१ मा दुःखद निधन भएको थियो । अस्ट्रेलियामा रहेका नेपालीहरुलाई हिमालयन रेडियो मार्फत नेपाली आवाज सुनाउने कार्की निकै लोकप्रिय र प्रभावशाली थिए । उनले विभिन्न सघंसंस्थामा आबद्ध रहेर सामाजिक क्षेत्रमा पनि काम गरेका थिए । भने खेलकुद क्षेत्रमा पनि उत्तिकै क्रियाशिल र सक्रिय रहेका थिए ।