सिड्नी । नेपाललाई अस्ट्रेलियामा चिनाउने वृहत उद्धेश्य बोकेको नेपाल फेस्टिबल ब्रिजबेन २०२२ भव्य रुपमा सम्पन्न भएको छ ।गैरआवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आयोजनामा अस्ट्रेलियाका विभिन्न सहरमा प्रत्यके २ वर्षमा आयोजना हुँदै आएको नेपाल फेस्टिबल ब्रिजबेनमा भव्य रुपमा सम्पन्न भएको हो ।
नोभेम्बर १३ तारिख आईतबार किङजर्ज स्क्वायरमा सम्पन्न कार्यक्रम बिहान १० बजे नेपाली भेषभुषामा सुसज्जित नेपालीहरुका साथमा परेड सुरु भएको थियो । १० बजे सुरु भएको कार्यक्रममा १ किलोमिटर पथयात्रा पछि कार्यक्रम स्थल जर्जस्क्वायरमा औपचारिक रुपमा सुरु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि अस्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेलले नेपाल फेस्टिबलले नेपाली संस्कृति, भाषा, भेषभुषा र समग्र नेपाली मौलिकपनको प्रवद्र्धन गरेको बताए । उनले फेस्टिबल नेपालीको एउटा पर्वकै रुपमा विकसित भएको भन्दै यसले नेपालीको पहिचान विश्वसामु पुर्याउने समेत धारणा व्यक्त गरे । राजदुत आचार्यले अस्ट्रेलियामा हुर्कँदै गरेको पछिल्लो पुस्ता र यहाँको बहुसांस्कृतिक समुदायलाई नेपाल प्रति आकर्षित गर्न यस्ता कार्यक्रम आयोजना भईराख्नुपर्ने समेत बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथि एवम् उप-प्रधानमन्त्री एवम् राज्य विकास र पूर्वाधार मन्त्री स्टीवन माइल्सले नेपाल फेस्टिबलमा निमन्त्रणा गरी आफुलाई पनि सहभागी हुने अवसर दिएकोमा धन्यवाद व्यक्त गरे । उनले नेपाली संस्कृति, भाषा कलाका विषयमा आफुले पनि जानकारी लिन पाएकोमा खुसी व्यक्त गरे ।
त्यस्तै विशेष अतिथि एवम् ब्रिसबेन सिटी काउन्सिल सदस्य विकी हावर्डले नेपाल फेस्टिबलमा सहभागी हुन पाउँदा खुसी लागेको भन्दै आफुले महोत्सवको आनन्द लिएको बताईन् ।कार्यक्रममा ब्रिसबेनबाट संघिय एम.पी. मा. स्टीफन बेट्स, ब्रोड वाटरका लागि सांसद डेभिड क्रिसफुल्ली लगायतको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एवम् नेपाल फेस्टिबल ब्रिजबेन सयोंजक विनोद भक्त आचार्यले कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे । उनले कार्यक्रममा दर्शकहरुको उपस्थिति देखेर कार्यक्रम सोँचेको भन्दा पनि सफल भएको बताउँदै आगामी दिनमा पनि नेपाललाई प्रवद्र्धन गर्ने उद्धेश्य राखेर अझै धेरै कार्यक्रम गर्ने बताए । आचार्यले पाँचौ पटक नेपाल फेस्टिबल ब्रिजबेन सम्पन्न गर्न पाउँदा निकै खुसी लागेको बताए । उनले सबैराज्यबाट आएका साथीहरुलाई जर्जपार्कमा देख्न पाउँदा आफु निकै उत्साहित भएको बताए ।
एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले एनआरएनएले अस्ट्रेलियाका विभिन्न स्थानमा प्रत्येक २ २ वर्षमा आयोजना गर्दै आईरहेको नेपाल फेस्टिबल प्रभावकारी बन्दै गएको भन्दै यसलाई अझै परिमार्जित र भव्य बनाउँदै लैजानुपर्ने बताए । उनले उपस्थित मन्त्रीहरुसगं पनि सहयोगको अपेक्षा राखिएको बताए ।
त्यस्तै गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिका अध्यक्ष्य डा. बद्रि के सी, कोअर्डिनेटर विनोद भक्त आचार्य, उपाध्यक्ष दुर्गा आचार्य, धर्म अधिकारी, सचिव होम पाण्डे, ओसियाना रिजनल कोअर्डिनेटर दिनेशराज जोशी,एनआरएनए अस्ट्रेलिया कोषाध्यक्ष अनिल पोख्रेल लगायतले मन्तव्य व्यक्त गरे भने ओसियाना रिजनल कोअर्डिनेटर केशवप्रसाद सापकोटा, डेप्युटी रिजनल कोअर्डिनेटर सन्तोष कुँवर, ,एनआरएनए उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङ,भिक्टोरिया सयोंजक हरि खड्का,लगायतको विशेष आतिथ्यता रहेको थियो । 
कार्यक्रममा नेपाली खानाका परिकार लगायत अन्य विभिन्न स्टलहरु राखिएको थियो । औपचारिक कार्यक्रम सम्पन्न भएपश्चात सांस्कृतिक कार्यक्रम सुरु भएको थियो । सांस्कृतिक कार्यक्रम तर्फ बहुसांस्कृतिक समुदायका संस्कृति र रितिरिवाजहरु समेत प्रस्तुत गरिएको थियो ।उक्त अवसरमा विभिन्न नेपाली झाँकीहरु, नेपाली पञ्चेबाजाका साथमा विभिन्न जातजातिका संस्कृतिहरु प्रस्तुत गरिएको थियो ।
नेपाल फेस्टिबल ब्रिजबेनले समग्र नेपाललाई एउटै कार्यक्रममा प्रतिनिधित्व गरेको थियो । फेस्टिबलमा नेपालबाट आएका कलाकारहरू दिपक बज्राचार्य एबम रिदम ब्याण्ड र लोकगायक प्रकाश सपूतले सागींतिक प्रस्तुती दिँदै दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नुका साथै छमछमी नचाएका थिए ।
नेपाल फेस्टिबल ब्रिसबेन यो पाँचौ नेपाल फेस्टिवल हो । यसवर्षको नेपाल फेष्टिबल ब्रिजवेनको मुख्य नारा सेलिब्रेटिङ डाइभरसिटी, एक्सप्लोरिङ अपरच्युनिटी अर्थात विविधतालाई आत्मसाथ गर्दै अवसरको खोजी गरौं भन्ने थियो ।
कार्यक्रममा क्विन्सल्याण्ड राज्यका बहुसांस्कृतिक समुदायका प्रतिनिधिहरू र क्विन्सल्याण्ड राज्यमा रहेका नेपाली संघ संस्थाका प्रतिनिधिहरू तथा अन्य गरी झण्डै १० हजार दर्शकको उपस्थिति रहेको थियो ।









