उपेन्द्र, अशोक र कार्कीको पार्टीबीच एकीकरण

मधेसी जनअधिकार फोरम नेपाल, संघीय समाजवादी पार्टी र खस समाजवादी पार्टीबीच सोमबार एकीकरण भएको छ । तीन दलको एकतापछि नयाँ पार्टीको नाम ‘संघीय समाजवादी फोरम नेपाल’ राखिएको छ भने उपेन्द्र यादव पार्टी अध्यक्ष बनेका छन् । केन्द्रीय तदर्थ समितिमा अशोककुमार राईलाई वरिष्ठ नेता बनाइएको छ भने सहअध्यक्षमा राजेन्द्रप्रसाद श्रेष्ठ रहेका छन् ।
यस्तै, खस समाजवादीका अध्यक्ष युवराज कार्की उपाध्यक्ष भएका छन् । फोरम र संघीय समाजवादीबाट दुई–दुई उपाध्यक्ष, एक–एकजना महासचिव, उपमहासचिव र सचिव भागबन्डामा परेका छन् । कोषाध्यक्ष भने फोरम नेपालले पाएको छ । खस समाजवादीले भने पदाधिकारीमा एक–एकजना उपाध्यक्ष र सचिव पाएको छ । तीन पार्टीको एकीकरणपछि बनेको नयाँ पार्टीका कुल सभासद १५ जना हुनेछन् ।