अखाद्य वस्तुको अनुसन्धान सुरु

काठमाडौँ, ७ असार । विश्व खाद्य कार्यक्रमले गोरखामा वितरण गरेको चामल गुणस्तरहीन भेटिएको भन्ने सन्दर्भमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुसन्धान सुरु गरेको छ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले स्थलगत अनुगमन गरी नमुना सङ्कलन गरेको र सोही नमुनाका आधारमा अध्ययन सुरु गरिएको महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिनुभयो । सङ्कलित नमुनाको प्रयोगशालामा सूक्ष्म अध्ययन गरिने जानकारी दिँदै विभागका महानिर्देशक शम्भु कोइरालाले विपद्मा कोही कसैले पनि अखाद्य वस्तु वितरण गर्न नपाउने बताउनुभयो ।
यस्तै विश्व खाद्य कार्यक्रमले नै वितरणका लागि ल्याएको दाल पनि अखाद्य देखिएको पाइएपछि त्यसको समेत नमुना सङ्कलन गरिएको छ । संयुक्त राष्ट्र सङ्घअन्तर्गतका निकायको आफ्नै विधि हुने भएकाले सरोकार भएका निकायमार्फत ध्यानाकर्षण गराइएको महानिर्देशक कोइरालाले जानकारी दिनुभयो ।
व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिको आजको बैठकमा वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले विश्व खाद्य कार्यक्रमका यहाँस्थित प्रतिनिधिलाई ध्यानकर्षण गराइएको जानकारी गराउनुभएको थियो । आइतबार मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भूकम्पपीडितलाई वितरणका लागि ल्याइएको खाद्य तथा पेय पदार्थको तत्काल नमुना सङ्कलन गरी अनुसन्धान गर्न निर्देशन दिएको थियो ।