ओशो तपोवनमा सन्न्यासी बने एनआरएन अध्यक्ष कुल आचार्य,किन गरे यस्तो ?

लन्डन। गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले ओशो तपोवनमा ९ दिनेे ‘ मिस्टिक रोज’ ध्यान पुरा गरेका छन्।तपोवनका संस्थापक स्वामी आनन्द अरुणले मन्त्र प्रदान गर्दै उनलाई ‘सन्न्यासी’ बनाएका हुन् ।अब उनको नाम’स्वामी कुलधर्म ‘ रहन गएको छ।

गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यका अनुसार ओशो दर्शनले आफूभित्रको तनाव ,कुण्ठा , घमण्डबाट मुक्त हुन मार्गदर्शन प्रदान गर्दछ । सन्न्यास धारण गर्दैमा कसैले पनि गरिरहेको राजनीति, बन्द व्यवसाय वा नोकरी छाड्नु पर्दैन ।यस सम्प्रदायभित्र संन्न्यासलाई समाजबाट स्वतन्त्र हुनु भन्ने बुझिन्छ । ‘स’ ले समाजलाई र ‘न्यास’ ले स्वतन्त्रतालाई जनाउँछ ।ओशो दर्शनमा सन्न्यासको अर्थ आफू भित्रैबाट जाग्ने, बुद्धत्व र अध्यात्मको खोज गर्ने र बाहिर जस्तो काममा लागिरहेको छ त्यसलाई अझ परिष्कृत गरेर लैजाने हो ।

‘अहिले नेपालमा मात्रै हैन, संसारभरि नै तनाव बढ्दै गएको छ। सुखी, शान्त, हँसमुख र स्वस्थ रहन पनि ध्यान अनिवार्य रहेको मेरो बुझाइ छ। म सबै साथीहरुलाई आफ्नो लागि पनि केहि समय निकाल्न र आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्यको बारेमा सचेत रहन अनुरोध गर्दछु,’ आचार्यले भने।

त्यस्तै अध्यक्ष आचार्य भन्नुहुन्छ “गुरु कृपा नै भन्नु पर्ला ओशो तपोबनमा आयोजित ९ दिने Mystic Rose ध्यानमा सहभागी हुने मौका पाएँ।  निकै सकारात्मक उर्जा मिलेको अनुभव भएको छ। हुन त यो नितान्त व्यक्तिगत अनुभूति हो, तर व्यावसायिक र सामाजिक जिम्मेवारीसंगै आध्यात्मिक यात्रालाई पनि अगाडी बढाउन उपयुक्त हुने ठानेको छु।  तपोबनमा मेरो बसाई र साधनालाई सहज तुल्याई दिनु हुने श्रद्धेय स्वामी आनन्द अरुणज्यू, स्वामी आनद अर्हत ज्यू, मेरा मित्र स्वामी आनन्द देव (श्री भबन भट्ट)  लगायत सबै मित्रहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु”।

केही समय अघि गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्ट आफूले आफैंलाई चिन्न, आफैंलाई बुझ्न र आफ्नो मार्ग पहिल्याउन तपोवनमा साधना गर्दै स्वामी ‘आनन्द देव’ बनेका थिए ।