लण्डन। मगर संघ यूकेको मिडल्याण्ड शाखाको अध्यक्षमा प्रेम आले मगर निर्वाचित भएका छन् ।
संस्थाको आइबार सम्पन्न दोस्रो अधिवेशनले सामाजिक अभियन्ता प्रेम आले मगरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
नवनिर्वाचित समितिका उपाध्यक्षमा चम्पा थापा र सचिवमा खिम थापा चुनिएका छन्। कार्यसमितिका अन्य पदमा पछि मनोनित गरिने भएको छ।
नवनिर्वाचित कार्यसमितिका अध्यक्ष मगर सहितका पदाधिकारीलाई मगर संघ यूकेकी अध्यक्ष सीता पुन मगरले खादा ओढाएर बधाई, शुभकामना ज्ञापन गरेकी थिइन्।
त्यस अवसरमा अध्यक्ष पुनले नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिंदै निवर्तमान समितिका अध्यक्ष टंक मगर र उनको टीमलाई सफल कार्यकालका लागि धन्यवाद दिइन्। उक्त कार्यक्रमको सञ्चालन भीम सारु मगरले गरेका थिए।
नवनिर्वाचित अध्यक्ष आले विभिन्न संस्थाहरुमा आबद्ध रहेर सामाजिक क्षेत्रमा सक्रिय रहंदै आएका अभियन्ता हुन्। शृजनशिल लेस्टर नेपाल यूकेका पूर्व अध्यक्ष उनी साझा नेपाली समाज यूकेका वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष पनि हुन्।
नवनिर्वाचित अध्यक्ष प्रेम आले मगरले लन्डन नेपाल न्युज संग बोल्दै मगर संघ यूके मिडल्याण्ड शाखाले बोकेको समाजिक सेवाभावलाई अगाडि बढाउन आफूहरू लागि पर्ने बताए,सशक्त रुपमा काम गर्ने उनको भनाइ छ ।






