माघी महोत्सवले रगिंयो सिड्नी

सिड्नी । थारु समाज सिड्नी अस्ट्रेलियाले भव्य रुपमा माघी पर्व मनाएको छ । १५ जनवरी अर्थात आईतबार थारु सवंत् २६४६ माघ १ गते सिड्नीको गौहव्हुइट लाम पार्क अलवुड कार्यक्रम सम्पन्न भएको हो । बेलुकी ३ः३० बजेबाट सुरु भएको कार्यक्रम ६ बजेसम्म चलेको थियो ।

मनु लाल चौधरीको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्दु गुरुङको विशेष आतिथ्यता रहेको थियो भने स्वगत मन्तव्य थारु समाज सिड्नी महिला संयोजक मिश्रा चौधरीले दिएकी थिइन।कार्यक्रममा प्रमुख अतिथि चौधरीले माघी पर्वले थारु समुदायमा सामाजिक सहिष्णुता तथा समझदारी पूण सम्बन्धको विकास गराउने बताए । उनले विदेशमा रहेर पनि आफ्नो पहिचान झल्काउने गरी आयोजना गरिएको कार्यक्रमले भावी पुस्तालाई समेत संस्कृति बचाईराख्न मद्धत पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले अस्ट्रेलियामा रहेका विभिन्न सघंसंस्थाहरुले आफ्नो क्षेत्रको प्रतिनिधित्व गर्दै नेपालको विविधता झल्काउने काम गरेको बताए । उनले आफ्नो कला संस्कृतिको उत्थानका लागि नेपाली सघंसंस्थाले गरेको कार्य महत्वपूर्ण रहेको भन्दै एनआरएनएले पनि सहयोग गर्ने बताए ।

त्यस्तै एनआरएनए उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङले न्यू साउथ वेल्स राज्यमा रहेका नेपाली सघंसंस्थाहरुले नेपालको पहिचान झल्काउने विभिन्न गतिबिधि गर्दै आईरहेको भन्दै आफुहरुले पनि सक्दो सहयोग गरिरहेको र आगामी दिनमा पनि गर्ने बताए ।

कार्यक्रमममा निन्फा अध्यक्ष सुदर्शन थापा मगरले निन्फाले पनि अरु सघंसंस्थाले जस्तै सबैको सहअस्तित्व स्वीकार्ने गरी काम गर्ने भन्दै आफ्ना रितिरिवाज र परम्परालाई अस्ट्रेलियामा पनि ल्याएर झल्काउने मुख्य उद्धेश्य रहेको बताए ।

कार्यक्रममा थारु समाज सिड्नीका अध्यक्ष दिपनारायण चौधरीले कार्यक्रम प्रत्येक वर्ष झन झनै उत्कृष्ट बन्दै गईरहेको बताए । उनले कार्यक्रम सोचे भन्दा पनि सफल भएको भन्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने थारु समाजका सम्पूर्ण सदस्यहरुलाई धन्यवाद व्यक्त गर्दै थारु समाजले आगमी दिनमा पनि नेपालकै झल्को दिने गरी कार्यक्रम गर्ने बताए ।

कार्यक्रममा  किराँत उत्थान चाम्लिङ अस्ट्रेलियाबाट शशि सुब्बा, किराँत खाम्बु राई सोसाईटी एनएसडब्ल्यूबाट योगेन्द्र राई, गुठी अस्ट्रेलियाका उमेश नापित, मगर समाज अस्ट्रेलियाका राजेन्द्र थापा मगर, तमु समाज सिड्नीका उपाध्यक्ष तथा पोखरा समाज अस्ट्रेलियाका उपाध्यक्ष हिउपति गुरुङ, तामाङ सोसाईटी अफ सिड्नीका महासचिव अविरल तामाङ, थकाली सेवा समितिका दुर्गा गौचन, शेर्पा किङ्दुङ अस्ट्रेलियाका कर्म शेर्पा, छन्त्याल परिवारका बुद्धि छन्त्याल, कार्यक्रममा प्रायोजकहरु, सिड्नीमा रहेका चर्चित युवा गायक समिर आचार्य, समाजसेवीहरु ईश्वर अविरल, ईथान शाक्य, कला तथा साहित्य प्रतिष्ठानकी अध्यक्ष सुजाता बस्नेत केसी सहित विभिन्न सघंसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपालको पूर्व देखि पश्चिम सम्मका थारु परिकार तथा पहिरनहरुले सजिएर गोहुईड्ल्याम्प पार्क रगींबिरगीं भएको थियो भने पूर्व देखि पश्चिमसम्मका थारुका परिकार र पहिरनको प्रदर्शनी गरिएको थियो । थारु समुदायको संस्कृति झल्काउने क्याटवक प्रस्तुतले कार्यक्रम लाई रौनकता दिनुका साथै मौलिकता झल्काएको थियो । क्याटवकमा नवलपरासी, चितवन, दाङ, सप्तरी, मोरङ र कपिलवस्तु लगायतका ठाउँका पहिरनमा सजिएका युवा युवती क्याटवक गर्दा दर्शकहरुको ध्यान तानेको थियो । त्यस्तै युवा पुस्ताबीच रुचाईएका डिजे नटकेशको संगीतले कार्यक्रमको माहोल ततायो ।

माघी पर्व थारुहरूको सबैभन्दा ठूलो पर्व रहेकोले यसलाई परापूर्वकालदेखि नै धुमधामका साथ मनाउँदै आइरहेका छन् । आ–आफ्नो ठाउँ अनुसार यसलाई, नयाँवर्षको रूपमा, उन्मुक्ति दिवसको रूपमा, सद्भाव र मेलमिलापको रूपमा तथा आफ्ना दिदीबहिनीहरूलाई कोशेली स्वरूप निस्राउ प्रदान गर्ने आदि विविध रूपमा मनाउने चलन रहेको छ । यस पर्वमा धुमरु गीत गाउने, दफ मादल बजाउने र मघौटा गीत गाउँदै विभिन्न नाचहरू नाच्ने गरिन्छ । थारु समुदायले माघलाई नयाँ वर्षको रूपमा लिने गरेको छ ।