लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको सुनिलबाबु खड्काको नेतृत्वमा रहेको कार्यसमितिलाई आइसीसीले अनुमोदन गरेको छ।
कार्यकारी अध्यक्ष रविना थापाको अध्यक्षतामा बुधबार बसेको आइसीसी बैठकले एनआरएनए यूकेमा विशेष अधिवेशनमार्फत् आएको उक्त समितिलाई अनुमोदन गर्ने निर्णय गरेको जनाइएको छ।
बेलायतको विवादसम्बन्धमा आइसीसी अध्यक्ष कुल आचार्यले प्रस्तुत गरेको पुनर्गठित कार्यसमितिसम्बन्धि सिफारिशलाई बैठकले अनुमोदन गरेको हो।
एनआरएनए यूके विवादबारे अध्ययन गरी समाधानका लागि सिफारिश गर्न आइसीसीले अध्यक्ष आचार्य र बेलायतस्थित अन्य पदाधिकारीलाई जिम्मेवारी दिएको थियो।
अक्टोबर १८ मा लन्डनमा सम्पन्न विशेष साधारणसभाले उपाध्यक्ष सुनिलबाबु खड्कालाई अध्यक्ष मनोनित गरेको थियो।
आइसीसीबाट अनुमोदन भएसंगै सुनिलबाबु खड्काको नेतृत्वमा रहेको समितिले नै एनआरएनएको केन्द्रीय ‘एमआइएस सिस्टम’ मार्फत सदस्यता वितरण गर्न पाउने भएको छ।
जसअनुसार यही जनवरी ८ तारिखदेखि नै केन्द्रीय ‘एमआईएस सिस्टम’मार्फत सदस्यता आवेदन खुलाउने तयारी गरिएको छ। सोही दिन समितिले लन्डनमा एक नयाँ वर्ष शुभकामना तथा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गर्दैछ।






