क्यानबेरामा पहिलो पटक नेपाल फेस्टिबल हुँदै

सिड्नी । अस्ट्रेलियाको क्यानबेरामा पहिलो पटक नेपाल फेस्टिबल आयोजना हुने भएको छ । नेपाली मौलिकताको प्रबद्र्धन गर्ने उद्धेश्य राखेर  एनआरएनए अस्ट्रेलियाले  विभिन्न राज्यहरुमा आयोजना गर्दै आएको नेपाल फेस्टिबल पहिलोपटक क्यानबेरामा यही फेब्रुअरी ११ तारिख कोमनवेल्थ पार्कमा हुँदैछ ।

एनआरएनए क्यानबेरा राज्य परिषदको आयोजनामा हुने फेस्टिबलको अहिले विभिन्न तैयारी चरणका कामहरु तीब्र रुपमा भईरहेका छन् । नेपाली मौलिक कला संस्कृतिको प्रवद्र्धन सगैं नेपाली संस्कृति झल्काउने गरी प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको कार्यक्रमको आन्तरिक तैयारीसगैं अतिथिहरुको निमन्त्रणा, नेपाली कलाकारहरुलाई सहभागी गराउने लगायतका अन्य आवश्यक तैयारीका कामहरु भईरहेको एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एवम् क्यानबेरा राज्य सयोंजक अशोक बस्नेतले बताए ।

एनआरएनएमा आबद्ध विभिन्न व्यक्तित्व र कार्यक्रम सम्पन्न गर्न सहयोग गर्न चाहानेहरु सम्मिलित ११ वटा समितिहरु निर्माण गरी तैयारीहरु भईरहेको तथा विभिन्न मल्टिकल्चर ग्रुपहरुसगं बैठक अन्तरक्रिया, अतिथि, प्रमुख अतिथिलाई निमन्त्रणा प्रधानमन्त्री, एमपी ,स्थानीय मन्त्रीहरुलाई निमन्त्रणा लगायत मल्टिकल्चरल पर्फमेन्सको लागि समेत तैयारी भईरहेको उनले जानकारी दिए ।

नेपाली पहिचानलाई विश्वमाझ पुर्याउनु, नेपालको पर्यटनमा सहयोग गर्नु, नेपाली एकता तथा सद्भावको संदेशलाई विश्वमाझ पुर्याउनु, नेपाली भाषा, कला, संस्कृति, परम्परा, खाना लगायत नेपाली मौलिकताको प्रबर्द्धन गर्नु र नयाँ पुस्तालाई नेपालको माटोसंग जोडिराख्नु नेपाल फेस्टिवल आयोजना गर्नुका मूख्य उद्देश्य रहेको आयोजकको भनाई छ ।

फेस्टिवलमा बहुसांस्कृतिक प्रस्तुतिहरु, नेपाली सांस्कृतिक प्रस्तुतिहरु, प्रत्यक्ष सांगीतिक प्रस्तुति, नेपालको कला तथा संस्कृति झल्काउने डिस्प्ले, नेपाली परिकारको फुडस्टल रहनेछन् । परेड, औपचारिक कार्यक्रम, सांस्कृतिक कार्यक्रम सगैं नेपालबाट आएका कलाकाहरुको प्रस्तुती र बच्चाहरुको रमाईलो खेल, विभिन्न क्षेत्रका खानाका परिकार, विभिन्न समुदायका संस्कृति झल्किने गरेर नेपाल हाउस समेटिएको बस्नेतले बताए ।

नेपाल र नेपाली संस्कृति, कला, भेषभुषा, तथा नेपाली खानाका परिकारहरुलाई प्रचार गर्ने उद्धेश्यले आयोजना गरिएको पहिलो कार्यक्रम भएपनि सोँचे भन्दा भव्य रुपमा सम्पन्न गर्न लागिएको उनले बताए ।

कार्यक्रममा नेपाली झाँकीहरुको साथ नेपाली कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् । कार्यक्रम सम्पन्न गर्न ईभेन्ट पार्टनरको रुपमा सक्सेस एजुकेशन एण्ड भिषा सर्भिसेज, प्लाटिनम पार्टनरको रुपमा एबिएच होम,ईलुस्टारटेड पोर्पटीज,क्राउन ईन्स्टिच्युट अफ हाईली एजुशेकन,ग्रेस ईनटरनेशनल,युनिभर्सिटी अफ क्यानबेरा,एक्पर्ट एजुकेशन र राईट्स एण्ड एशोसियट्सले सहयोग गरेका छन् ।