सिड्नी । तमु समाज सिड्नीले तमु ल्होछार पर्वको अवसरमा आयोजना गरेको कार्यक्रमको भव्य तैयारी अन्तिम चरणमा पुगेको छ ।
समाजले सांस्कृतिक पर्व तमु ल्होछारको अवसरमा यही जनवरी ७ तारिख माराना अडोटेरियममा बेलुकी ५ः३० बजे देखि ‘तमू हिल्हो ल्होसार’ कार्यक्रमको आयोजना गरेको छ ।
समाजका अध्यक्ष युवराज गुरुङका अनुसार अहिले कार्यक्रमको तैयारी तिब्र रुपमा भईरहेको छ । अतिथिहरुको निमन्त्रणा, कलाकारहरुको निमन्त्रणासगैं, कार्यक्रम सम्पन्न गर्न विभिन्न समिति एवम् उपसमितिहरुलाई दिएको जिम्मेवारी सबैले पुरा गरेको र अब ल्होछारको प्रतिक्षामा रहेको उनले बताए ।
कार्यक्रममा राजदुताबासका तृतीय सचिव यादव कोईरालाको प्रमुख आतिथ्यता रहने बताईएको छ । कार्यक्रममा तमू संस्कार, संस्कृति र परम्परा झल्किने बृहत सांस्कृतिक कार्यक्रमको साथमा स्योकै (रात्री भोज),शुभकामना आदानप्रदान साथै अस्ट्रेलियामा रहेका चर्चित नेपाली कलाकारहरुको बेजोड प्रस्तुति, डिजे धमाका सहित अन्य विभिन्न रमाईलो कार्यक्रमको साथमा ल्होछार मनाउन लागिएको समाजका महासचिव अर्जुन गुरुङले जानकारी दिए ।
उक्त अवसरमा परम्परागत पुजा,तमु भेष भुषा सहित विविध साँस्कृतिक कार्यक्रम, विविध मनोरन्जनात्मक कोशेलीहरु, फोटोग्राफी, भिडियो, डी जे, तमु परिवारबाट बनेका खानाका विभिन्न परिकारका साथमा अन्य कार्यक्रम समेत रहनेछन् ।
हरेक वर्ष अस्ट्रेलियामा तमु समाज सिड्नीले ल्होछार भब्यताका साथ मनाउदै आएको छ । कार्यक्रममा उपस्थितिको लागि अस्ट्रेलियाबासी सम्पूणर् तमू तथा गैर तमू बुबा-आमा ,दाजु-भाई तथा दिदी-बहिनीहरुलाई महासचिव गुरुङले निमन्त्रणा समेत गरेका छन् ।






