सिड्नी । अस्ट्रेलियामा रहेको गुरुङ समुदायहरुको साझा संस्था तमु समाज सिड्नीले सांस्कृतिक पर्व तमु ल्होछार भव्य रुपमा मनाउने भएको छ ।
यही जनवरी ७ तारिखमा माराना अडोटेरियममा बेलुकी ५ः३० बजे देखि ‘तमू हिल्हो ल्होसार’ कार्यक्रमको आयोजना गरेको समाजका अध्यक्ष युवराज गुरुङले बताए ।
‘शास्त्र हराए संस्कार हराउछ , संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मानव अस्तित्व नै हराउँछ’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै तमू संस्कार, संस्कृति र परम्परा झल्किने बृहत सांस्कृतिक कार्यक्रमको साथमा स्योकै (रात्री भोज ), शुभकामना आदानप्रदान साथै अस्ट्रेलियामा रहेका चर्चित नेपाली कलाकारहरुको बेजोड प्रस्तुति, डिजे धमाका सहित अन्य विभिन्न रमाईलो कार्यक्रमको साथमा ल्होछार मनाउन लागिएको समाजका महासचिव अर्जुन गुरुङले जानकारी दिए ।
उक्त अवसरमा परम्परागत पुजा ,तमु भेष भुषा सहित बिबिध साँस्कृतिक कार्यक्रम, विविध मनोरन्जनात्मक कोशेलीहरु, फोटोग्राफी, भिडियो, डी जे, तमु परिवारबाट बनेका खानाका विभिन्न परिकारका साथमा अन्य कार्यक्रम समेत रहनेछन् ।
हरेक वर्ष अस्ट्रेलियामा तमु समाज सिड्नीले ल्होछार भब्यताका साथ मनाउदै आएको छ । तर गत दुई बर्ष कोभिड महामारीका कारण ल्होछार मनाईएको थिएन् । कार्यक्रममा उपस्थितिको लागि अस्ट्रेलियाबासी सम्पूणर् तमू तथा गैर तमू बुबा-आमा ,दाजु-भाई तथा दिदी-बहिनीहरुलाई महासचिव गुरुङले निमन्त्रणा समेत गरेका छन् ।
संस्थापक अध्यक्ष प्रेमकाजी गुरुङको पालादेखि सिड्नीमा ल्होछार सन् १९९६ देखि मनाउँदै आएको छ । गुरुङहरुले पुस १५ लाई नयाँ वषको रुपमा लिने गर्दछन् । उक्त दिनदेखि मृग वर्ष पूरा भई मुसा वर्षको थालनी भएको खुशियालीमा तमु ल्होसार मनाईन्छ ।
तमु ल्होसारको अवसरमा गुरुङ समुदायका सदस्य आफ्ना इष्टदेवका साथै वर्ष चिन्हको समेत पूजाआजा गरी यो पर्व मनाउँछन् । गत वर्ष बाघ वर्ष पूरा भई बिरालो वर्षको थालनी भएको खुशियालीमा तमु ल्होसार मनाईदै छ।






