गुल्मी जिल्ला अदालत जनताको घर दैलोमा

गुल्मी, २९ जेठ । पहिलो पटक जिल्ला न्यायाधीशसहित गुल्मी जिल्ला अदालत जनताको घरदैलोमा पुगेको छ । न्यायिक संवाद कार्यक्रमअन्तर्गत जिल्ला न्यायाधीश ऋषिराम आचार्यसहितको टोलीले यसरी न्यायिक सुझाव र अदालती प्रक्रियाको जनजिज्ञासा मेटाउन जनताको घरदैलोसम्म पुग्ने अभियान सुरु गरेका हुन् । उनीहरुले यो अभियान खज्र्याङ गाविसबाट सुरु गरी प्रत्येक गाविसमा पु-याउने बताएका छन् ।
जिल्ला अदालतका स्रेस्तेदार श्यामविहरी मौर्यका अनुसार आत्माबोध उच्च माध्यमिक विद्यालय खज्र्याङमा आयोजित कार्यक्रममा स्थानीय समाजसेवीदेखि सर्वसाधारणसम्म अदालती प्रक्रियाबारे जिज्ञासा राखेका थिए । सहभागी सर्वसाधारण र बुद्धिजीवीहरुले सम्बन्धबिच्छेद, जबर्जस्ती करणी, बन्दी प्रत्यक्षीकरणजस्ता मुद्दामा राखेको जिज्ञासा प्रमुुख अतिथि जिल्ला न्यायाधीश आचार्यले स्पष्ट पारिदिनुभएको थियो ।
उहाँले अदालतबाट लागेको दण्ड जरिवाना असुल गरेमा पाइने प्रोत्साहनबापतको २५ प्रतिशत रकमबारे समेत जानकारी दिनुभएपछि सर्वसाधारणले असुल फछ्र्यौट गर्ने कुरामा प्रतिबद्धतासमेत जनाएका थिए । स्रेस्तेदार मौर्यले अदालतको क्षेत्राधिकार, कार्यविधि र अदालतबाट सुनुवाइ हुने मुद्दाबारे सर्वसाधारणलाई जानकारी गराउनुभएको थियो ।