ताप्लेजुङमा पहिरो १२ को मृत्यु, केही वेपत्ता

ताप्लेजुङ- ताप्लेजुङमा गएराती पहिरो जाँदा १२ जनाको मृत्यु भएको छ । प्रहरीले १२ जनाको शव प्राप्त गरिसकेको छ। केही वेपत्ता भएका छन् । लिवाङ ३, खोक्लिङ ७, थिङलाबु ६ र लिङतेप ७ तीनवटा गाविसमा गएराती पहिरो गएको हो । रातीको पहिरोले केही घर बगाएको र पानी परिरहेकाले उद्धारमा पनि समस्या भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी शान्तिराज कोइरालाले टेलिफोनमा जानकारी दिए । पहिरोका कारण तीनवटा गाविसमा गरि १० जनाभन्दा बढी वेपत्ता रहेको प्रहरीले जनाएको छ ।
बर्षा भईरहेको र खोल्सा तथा खोला बढेका कारण उद्धारमा समेत कठीनाई भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । उद्धारको लागि काठमाडौंबाट समेत सेनाको हेलिकप्टर ताप्लेजुङ गएपनि खराव मौसमको कारण घटनास्थल पुग्न सकेको छैन । स्थानिय प्रहरी र स्थानीय सर्वसाधारण अहिले प्रभावित स्थानमा उद्धारमा खटिएका छन् । उता, गएराती नै ताप्लेजुङको म्याङखामा पनि पहिरो जांदा मेची राजमार्ग अवरुद्ध बनेको छ । पहिरो गएराती पौने १२ बजे गएको हो ।