- शिव भण्डारी
लन्डन– गैर आवासीय नेपाली संघ बेलायतको अध्यक्षमा वर्तमान उपाध्यक्ष योगकुमार फगामीले उम्मेदवारी घोषणा गरेका छन् ।
आइतबार दिउँसो भेटघाट रेष्टुरेन्टमा बेलायतस्तित प्रमुख नेपाली संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीमाझ फगामीले उम्मेदवारी घोषणा गरेका हुन् । फगामी एनआरएन यूकेको दुई पटक साधारण सदस्य तथा एकपटक महासचिव र वर्तमान कार्यसमितिमा उपाध्यक्ष हुन् ।
म्याग्दीको साविकको बेगखोला गाविस हाल रघुगंगा गाउँपालिकामा जन्मिएका फगामी ब्रिटिस सेनामा १७ वर्ष सेवा गरेका छन् । बेलायती सेनाबाट पेन्सन भएपछि उनी बेलायतको बेसिङस्टोकमा विगत १५ वर्षदेखि परिवारसहित बस्दै आएका छन् ।
विभिन्न संघ संस्थाका प्रतिनिधिको बलियो उपस्थितिबीच उम्मेदवारी घोषणा गरेका फगामीले एनआरएन यूकेमा रहेर विश्व परिवेशमा नेपालीपन, नेपाली मन र नेपाललाई नेपाली कला र संस्कृतिको धनी देशकारुपमा चिनाउन आफ्नो उम्मेदवारी रहेको बताए ।
फगामीले नागरिकताको निरन्तराको अभियान, समृद्ध नेपाल निर्माण गर्ने, पर्यटन तथा लगानी भित्र्याउने, मातृभूमिका लागि आपतकालिन अवस्थामा राहतमा सदा तत्पर रहने/बनाउनेलगायतका अभियानलाई आफ्नो उम्मेदवारीसँग जोडेका छन् ।
साथै गोरखामा निर्माणाधिन लाप्रपाक नमूना बस्तीमा सहयोग थप्नेलगायतका योजना पनि फगामीको छ ।
रमेश सराङकोटीले सञ्चालन गरेको कार्यक्रममा योगेश क्षेत्री, शान्ति थापा,बेलायत कांग्रेस नेता डा. मिन राना भाट, नेम थापा, अमर मल्ल, ओमप्रसाद थापा, प्रकाश गुरुङ, राम गलामी, छविमाया पुन, लगायतले शुभकामना दिएका थिए ।
एनआरएन यूकेको आगामी नेतृत्वका लागि यसअघि नै कृष्ण तिमल्सेना र हिराधन राईले उम्मेदवारी घोषणा गरिसकेका छन् ।










