लन्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा शनिबार बिहान थप एक नेपालीको निधन भएको छ । आर्मी नम्बर २११३२९०६ का ‘क्विन्स गोर्खा सिग्नल्स’ का ‘स्टाफ सार्जेन्ट’ ८६ वर्षीय बहादुर मल्लको स्वीन्डनस्थित ‘ग्रेट वेष्टर्न हस्पिटल’मा निधन भएको हो ।
स्वास्थ्यस्थिति कमजोर बन्दै गएपछि चार दिनअघि अस्पताल भर्ना गरिएका मल्लको उपचारकै क्रममा शनिबार बिहान करिब तीन बजेतिर मृत्यु भएको जानकारी क्षेत्री समाज बेलायतका अध्यक्ष राजन कुमार क्षेत्रीले दिए ।
बेलायतको स्वीन्डनमा बस्दै आएका मल्ललाई ज्वरो, पखाला, वान्ता लगायतका समस्या भएपछि अस्पताल लगिएको थियो । अस्पताल भर्ना भएको ४८ घण्टापछि उनमा कोरोनाको पुष्टि भएको क्षेत्रीले बताए ।
मृतक बेलायतमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुने सातौं नेपाली र पाँचौं भूपू गोर्खा सैनिक हुन् ।






