बारा- केही दिनयताको प्रचन्ड गर्मीले मध्य तराईको जनजीवन अस्तव्यस्त बनेको छ । बिहानैदेखि घाम चर्कंदा जनजीवन प्रभावित भएको छ । बारा, पर्सा, रौतहट, सिरहा, सप्तरी, सर्लाहीलगायतका जिल्लाहरु गर्मीका कारण नराम्ररी प्रभावित बनेका छन् । गर्मीकै कारण हालसम्म सिरहामा चार, सप्तरीमा दुई र सर्लाहीमा एकजनाको मृत्यु भइसकेको छ ।
चिसो पानी र पेय पदार्थको बिक्री बढेको छ भने खेतीकिसानी गर्न कठीन भएको छ । सरकारी कार्यालयमा सेवाग्राही पातलिएका छन् । जिल्लाहरुमा तापक्रम ४२ डिग्रीसम्म पुगेको छ । गर्मीकै कारण सर्वसाधारणमा रिंगटा लाग्ने, वाकवाकी हुने, झाडापखाला लाग्ने, आँखा धमिलो हुने, कमजोरी महसुस हुने र बेहोस हुने, घाउ, खटिरा जस्ता लक्षण देखिन थालेको जिल्ला अस्पताल बाराले जनाएको छ ।
अस्पतालका अनुसार गर्मीले गर्दा सर्पको बिगबिगीसमेत बढेको तथा दैनिकजसो तीनदेखि चारजनासम्म सर्पको टोकाइबाट बिरामी भएकाहरु उपचारका लागि आउने गरेका छन् । एकातिर गर्मी अर्कोतिर लोडसेडिङले गर्दा सर्वसाधारणको दैनिकी थप प्रभावित बनेको छ । उता, पश्चिम तराईका बाँंके र बर्दियालगायतका जिल्लामा तापक्रम ४४ डिग्री सेल्सियससम्म पुगेपछि जनजीवन प्रभावित बनेको छ ।
गर्मीले तराईमा सातको मृत्यु






