काठमाडौँ । बेलायत पठाइदिन्छु भनि ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं मैतिदेवी बस्ने सोलुखुम्बु थुलुङ गाउँपालिका-२ ठेगाना भएका ३३ वर्षीय तिलक बहादुर बस्नेत रहेका छन् ।
काठमाडौं पुतलीसडकस्थित रेडजोन फाउन्डेसन कन्सलटेन्सीका संचालक समेत रहेका बस्नेतले पीडितहरूलाई अमेरिका, बेलायत लगायतका देशमा भिसा उपलब्ध गराउने भन्दै प्रलोभन देखाइ नगद ११ लाख २० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा उक्त कन्सलटेन्सी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट अनुमति समेत नलिई सञ्चालन गरेको पाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं पुतलीसडकबाट पक्राउ परेका बस्नेत उपर ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।






