भक्तपुर । भक्तपुरमा पानी ट्यांकरको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु भएको छ ।
शनिबार बिहान १० बजे भक्तपुर नगरपालिका-२ झौखेलबाट ब्यासी आउँदै गरेको बा ५ ख ९१४२ नम्बरको पानी ट्यांकरले एक जना बालकलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
ठक्करबाट रामेछाप सुनापाती गाउँपालिका-४ घर भई ब्यासी बस्ने रवीन्द्र तामाङका ७ वर्षीय छोरा विवेशको मृत्यु भएको परिसर प्रवक्ता डिएसपी राजु पाण्डेले बताए ।
सडकमा खेलिरहेका बेलामा उनलाई ट्यांकरले ठक्कर दिएको हो । ठक्करपछि गम्भीर घाइते भएका बालकको उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो ।
उपचारको क्रममा उनको मृत्यु भएको हो । प्रारम्भीक अनुसन्धान गरी ठक्कर दिने पानी ट्यांकर र भक्तपुर नगरपालिका-९ कमलबिनायक बस्ने ४५ वर्षीय सिताराम पक्का नेवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।






