काठमाडौं- गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेले भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका सरकारी अधिकारीसँग पुनःनिर्माण योजनाबारे छलफल गर्नुभएको छ ।
भूकम्प प्रभावितलाई एक हजार घर निर्माण गर्ने तयारी गरिरहेको गैरआवासीय नेपाली सङ्घले सिन्धुपाल्चोकमा घर निर्माणस्थल छनौट गर्ने योजनासहित सरकारी अधिकारीलाई भेट गरेको हो ।
सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी र सहरी विकास विभागका प्रतिनिधिसँग एनआरएन टोलीले सामूहिक छलफल गरेको हो ।
सङ्घका अध्यक्ष घलेले दुई वर्षभित्र एक हजार आवास निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सहरी विकास तथा भवन निर्माण विभागसँग सम्झौता भइसकेको जानकारी दिँदै सिन्धुपाल्चोकमा कहाँ र कसरी एनआरएनले सहयोग गर्न सक्छ भनी सरकारी अधिकारीहरुलाई सोध्नुभएको थियो ।
सरकारले सिफारिस गरेको ठाउँमा मात्र सङ्घले पुनःनिर्माण अभियान थाल्ने भएकाले अति विपन्न र एकै ठाउँमा धेरै घरधुरी भएको गाउँ एनआरएनलाई जिम्मा दिन आग्रह गर्नुभएको थियो ।
निमित्त प्रमुख जिल्ला अधिकारी भरतप्रसाद आचार्यले सिन्धुपाल्चोकमा पुनःनिर्माण गर्ने सङ्घको योजनाप्रति आभार प्रकट गर्दै सकेसम्म दुर्गम ठाउँमा जान आग्रह गर्नुभयो ।






