मानव तस्करी गरेको अभियोगमा गुल्मीका सापकोटा दम्पति जेल चलान

लन्डन – नेपाली उखान “लोभले लाभ लाभले विलाप” भन्ने उखान सापकोटा दम्पतिमा पुरै चरितार्थ हुन्छ।  कैयौं वर्ष पहिले गुल्मीबाट फिनल्याण्ड आएका उनीहरुले प्रशस्त पैसा कमाए, नेपालमा थुप्रै घर, जग्गा, घडेरी जोडे र केहि सामाजिक काम पनि गरे। तर, फिनल्याण्डको एक अदालतले मानव तस्करी गरी आफ्नो रेस्टुरेन्टमा श्रम शोषण गरेको अभियोगमा दोषी ठहर गर्दै शुक्रबार उनीहरुलाई जेल सजाय सुनायो।

पिर्कन्मा जिल्ला अदालतले गुल्मी घर भइ लामो समयदेखि फिनल्याण्डमा रेस्टुरेन्ट व्यवसायमा संलग्न डिलाराम सापकोटा तथा उनकी श्रीमती रिमा सापकोटालाई  दोषी ठहर गर्दै फैसला सुनाएको हो । हेलसिन्कीबाट झन्डै डेढ घण्टा टाढा रहेको ताम्पेरे शहरस्थित आफ्नो रेस्टुरेन्टमा बाध्यकारी श्रममा लगाएकोमा उनीहरु दोषी पाइएका हुन् ।  उनीहरुले नेपालबाट कामदारहरु ल्याएर बिहानदेखि राती अबेरसम्म हप्तामा ६ दिन वा सातै दिन काममा लगाउने गरेका थिए।

फिनल्याण्डबाट प्रकाशित हुने समाचारपत्र, हेलसिङ्गिन सानोमत का अनुसार ताम्पेरेस्थित जिल्ला अदालतले रेस्टुरेन्ट मालिक डिलारामलाई ३ वर्ष ८ महिना तथा उनकी श्रीमती रिमालाई २ वर्ष १० महिना जेल सजाय सुनाएको हो ।  एक जना ‘माइला’ भन्ने (परिवर्तित नाम) नेपाली कामदारले उजुरी गरेपछि प्रहरीले छानबिन गरेर सापकोटा दम्पतिविरुद्ध मुद्दा चलाएको थियो। फिनल्याण्डमा सञ्चालित अन्य नेपाली रेस्टुरेन्टका मालिकहरुले पनि आफ्ना कामदारहरुलाई बन्धक जस्तो बनाएर श्रम शोषण गर्ने गरेको समाचार यसभन्दा पहिले पनि प्रकाशित भएका थिए। फिनिश प्रहरीले ती उजुरीहरुबारे पनि छानबिन गरिरहेको सूत्रहरुले जनाएका छन्।

अदालतले सापकोटा दम्पति र उनीहरुका कम्पनीलाई श्रम शोषण गरिएका कामदारहरुलाई ज्याला, उनीहरुले  पाएको पीडा र  क्षतिपूर्ति वापत लाखौं यूरो तिर्न पनि आदेश दिएको छ। अदालतले सापकोटा दम्पतिले चार जना नेपालीलाई मानव तस्करी गरेको र थप दुई जनालाई काममा भेदभाव गरेको ठहर गरेको थियो।  

मानव तस्करीको जालो 

गैरआवासीय नेपाली संघ (एनआरएनए) फिनल्याण्डका निवर्तमान अध्यक्ष शेखर आचार्य मानव तस्करहरुले संगठितरुपमा नेपालबाट युरोप पठाएका नेपालीहरु कामको खोजीमा फिनल्याण्ड आइपुग्ने गरेको बताउंछन्। 

आचार्यले भने,’विभिन्न माध्यमहुँदै पोर्चुगल, पोल्याण्ड वा लात्भिया आइ पुगेका नेपालीहरुले कामको खोजीमा फिनल्याण्डमा सम्पर्क गर्न गरेको हामीले पाएका छौं।  हातमा कुनै सीप नहुने र भाषाको पनि समस्या हुने भएकाले अधिकांश त्यस्ता व्यक्तिले नेपाली रेस्टुरेन्टको किचेनमा काम खोज्ने गर्छन्। ‘ 

आचार्यले नेपालमा पनि फेसबुक लगायतका माध्यमबाट फिनल्याण्डमा महिनामा २ लाख सम्म तलब पाइने भन्दै ठूलै रकम असुल्ने गिरोहहरु सक्रिय रहेको बताए । उनले नेपाल प्रहरी, नेपाली दूतावास वा एनआरएनए फिनल्याण्डसंग बुझेर मात्रै कुनै पनि कदम चाल्न सुझाव पनि दिए।  

डेनमार्कका लागि नेपाली दूतावासले फिनल्याण्ड सम्बन्धी मामिला  पनि हेर्ने गरेको छ।  

(फोटो साभार: हेलसिङ्गिन सानोमत )