केदार दाहालभूकम्पले सन् २०१५ मा पर्यटक आगमन ४० प्रतिशतले घट्ने प्रक्षेपण गरिए पनि त्यो आँकडा ६० प्रतिशतभन्दा माथि पुग्ने अनुमानले व्यवसायी चिन्तित छन् । यो वर्ष होटलहरूको बुकिङ न्यून छ । अहिले मुख्य सिजन सुरु भइसके पनि पर्यटक आगमन उत्साहजनक छैन । कुनै पनि होटलको अक्कुपेन्सी राम्रो छैन ।
“केही महिनादेखि भूकम्पको मार खेपिरहेको पर्यटन क्षेत्र अहिले बन्द–हड्ताल र इन्धन अभावको चपेटामा छ,” राष्ट्रिय पर्यटन प्रवद्र्धन समितिका संयोजक योगेन्द्र शाक्य भन्छन्, “यसको मुख्य मारमा होटल व्यवसायी परेका छन्, उनीहरूले पाहुनालाई खाना खान बाहिर पठाउनुपर्ने अवस्था आएको छ ।” नेपाली पर्यटनले द्वन्द्वकालमा समेत यस्तो अवस्था नभोगेको शाक्यले बताए । उनी माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा पुग्दा होटल संघ नेपाल (हान)को नेतृत्वमा थिए ।
हानका कार्यकारी निर्देशक प्रवेश अर्याल पनि संविधान बनेसँगै मुलुकमा शान्ति कायम होला र पर्यटक बढ्लान् भन्ने आशा अहिले निराशामा बदलिएको बताउँछन् । “मुख्य पर्यटकीय सिजनमा यस्तो मन्दी होला भन्ने हामीले कहिल्यै अनुमान गरेका थिएनौं,” उनले भने ।
पर्यटनको मुख्य सिजन मानिएको सेप्टेम्बर–अक्टोबरमा पनि ठमेल, दरबारमार्गलगायत पर्यटक चहलपहल बाक्लो हुने क्षेत्र पूरै सुनसानजस्तै छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार चालू वर्ष ४ लाख ८० हजारभन्दा कमै पर्यटक आउने प्रक्षेपण गरिए पनि झन् घट्ने देखिएको रेस्टुराँ एन्ड बार एसोसिएसन नेपाल (रेबान)का पूर्वअध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले बताए । “भूकम्पले पूरै थला परेको पर्यटनमा अहिले समस्यै समस्या छन्,” श्रेष्ठ भन्छन्, “इन्धन अभावले होटल तथा रेस्टुराँहरू खाना खुवाउने अवस्थामा समेत छैनन् ।” उनले सञ्चालनमा रहेका आफ्ना ४ रेस्टुराँमध्ये २ वटा त इन्धन अभावकै कारण बन्द गर्नुपरेको बताए ।
१० वटा पाँचतारे होटलमा वार्षिक ५ लाख २३ हजार ४५३ वटा कोठा रहे पनि सन् २०१४ मा ३ लाख १९ हजार २८४ वटा कोठा भरिएका थिए । तर, यो वर्ष ६० प्रतिशतभन्दा बढी घट्ने देखिएको संयोजक शाक्यले बताए । पर्यटन पुनरुत्थान तथा प्रवद्र्धन गर्न सरकारसँग ६५ करोड रुपैयाँ मागे पनि हालसम्म स्वीकृत नभएको गुनासो उनले गरे । भूकम्पपछि पर्यटन प्रवद्र्धन गर्न सरकारले नै समिति बनाएको छ ।
भूकम्पले अप्ठ्यारो पारेको होटल व्यवसाय यो सिजनमा केही तंग्रिने आशा भए पनि नाकाबन्दी र इन्धन अभावले चौपट पारेको होटल सांग्रिलाका महाप्रबन्धक राजुविक्रम शाहले बताए । “हामीले द्वन्द्वकालमा समेत यस्तो मन्दीको अवस्था भोग्नु परेको थिएन,” उनले भने, “नेपालमा संविधान जारी भएपछिको अवस्थाबारे भइरहेका प्रचारले पर्यटक झन् घटिरहेका छन् ।”
व्यवसायीहरू अहिलेको सिजनमा मन्दी भोग्नुपरे पनि आगामी सिजनका लागि योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने बताउँछन् । भूकम्पपछि नेपालबारे नकारात्मक हल्ला बढी भए पनि त्यसलाई चिर्न नसक्दा अहिलेको अवस्था आएको नेपाल एसोसिएनस अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष डीबी लिम्बू बताउँछन् । भन्छन्, “अब भने हामीले योजनाबद्ध ढंगले अघि बढ्नुपर्छ र पर्यटन प्रवद्र्धनमा सरकार र निजी क्षेत्र हातेमालो गर्नुपर्छ । मुलुकमा ढिलोचाँडो शान्ति आउँछ, त्यसैले हामी चुप लागेर बस्नु हुन्न ।” अहिले होटल, रेस्टुराँहरूले इन्धन अभावका कारण मेनु कटौती गरिरहेको उनले सुनाए ।
पर्यटन मन्त्रालयका अनुसार चालू वर्ष ४ लाख ८० हजारभन्दा पनि कम पर्यटक आउने प्रक्षेपण छ । यसले बसाइ अवधि, आम्दानीदेखि होटलको अकुपेन्सीमा समेत प्रभाव पार्ने निश्चित छ । सरकारले भूकम्पपछि सार्वजनिक गरेको प्रक्षेपणमा समेत इन्धन अभाव, बन्द–हड्ताल तथा नाकाबन्दीले असर पारेको छ । सरकारले सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पर्यटक आगमनदर राम्रो हुने अपेक्षा गरेको थियो ।






