एन्जाको दोश्रो अधिवेशन सम्पन्न : अध्यक्षमा देवकोटा चयन, पदाधिकारीमा को को आए ?

सिड्नी । अष्ट्रेलियामा क्रियाशिल नेपाली पत्रकारहरुको साझा मञ्च अस्ट्रेलियन नेप्लिज जोर्नालिष्ट एसोसिएसन (एन्जा) को अध्यक्षमा चिरञ्जिवीराज देवकोटा चयन भएका छन् ।

शुक्रवार तास्मानियाको होबार्टमा सम्पन्न एन्जाको दोश्रो अधिवेशनले देवकोटाको नेतृत्वमा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

नवगठित समितिको उपाध्यक्षमा कृष्ण तिवारी, प्रकाश हुमागाईं, छत्र शंकर, महासचिवमा नारायण खड्का, पब्लिक अफिसरमा गणेश भट्ट सचिवमा सरल गुरुङ, प्रवक्तामा तक्दीर अधिकारी, कोषाध्यक्षमा खगेन्द्र सत्याल, सदस्यमा प्रतीक सिग्देल चयन भएका छन् ।

रिक्त रहेको दुई सदस्य भने पछि मनोनित गर्ने छ । अधिवेशनमा अस्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेलले प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै नेपाल र अस्ट्रेलियाको अन्तराष्ट्रिय सम्बन्ध मजबुत बनाउन नेपाली पत्रकारहरुको पनि महत्वपूर्ण भुमिका रहने बताए ।

अधिवेशनमा मुख्य अथितिका रुपमा न्याय उपभोक्ता अधिकार तथा कार्यस्थल सुरक्षा मन्त्री एलिस आचर, तास्मानियाको उपल्लो सदनका सदस्य जोश वीली, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ,एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङ, एवीसी रेडियो होवर्टका व्यवस्थापक समान्था स्थानर, एनआरएनएका विभिन्न राज्य संयोजक तथा प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

अधिवेशनमा निवर्तमान अध्यक्ष ऋषि आचार्यले आफ्नो कार्यकाल सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष देवकोटालाई जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष देवकोटाले अष्ट्रेलियामा नेपाली समुदायको बसोबासी बढिरहेको सन्दर्भमा नेपाली पत्रकारितालाई अझै व्यवस्थित र व्यवसायिक बनाउँदै समग्र देश विकासका लागि समेत जोड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

२०१९, नोभेम्बर ४ मा एन्जा को गठन गरेका थिए । एन्जाले अष्ट्रेलियामा कार्यरत पत्रकारहरुका लागि आचारसंहिता लागू गर्ने, नियमन गर्ने, गुनासा सुन्ने र पत्रकारलाई तालिमको व्यवस्था गर्दै आएको छ ।