तक्दीर अधिकारी
सिड्नी । अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाल आफुले कार्यकाल सम्हालेको एक बर्षपछि आन्तरिक भ्रमणमा निस्किएका छन् ।
३ महिना अघिको पूर्वनिर्धारित कार्यक्रम अनुसार राजदूत दाहाल न्यू साउथ वेल्स राज्यमा कुटनीतिक भेटघाटमा छन । यहाँ उनले गभर्नर, प्रिमियर अफिस, मुख्य न्यायधिश, व्यापार मन्त्री लगायत विभिन्न सरकारी पक्षसँग नेपाल र अष्ट्रेलिया सम्बन्ध, व्यापार लगायतका विविध विषयमा छलफल गरेको बताइएको छ । “द्विपक्षीय सम्बन्ध, व्यापार विस्तार, सीप र प्रविधिहरुको हस्तान्तरण गर्ने बारे यहाँका उच्च पदस्थ अधिकारीहरु सँग छलफल भएको छ र उनीहरु सकारात्मक छन्,”राजदूत दाहालले भने, “यहा रहेका नेपाली समुदाय, नेपाली विद्यार्थी, उनीहरुको हकहित तथा उनीहरुलाई यहाँका विभिन्न अवसरमा सामेल बनाउने विषयमा पनि उनीहरु सकारात्मक छन्, यो भ्रमण एकदम उल्लेखनीय हुने देखिएको छ।” डिसेम्बरमा गर्न लागिएको व्यापार तथा लगानी सेमिनारमा अष्ट्रेलियाका व्यापार मन्त्री सहभागि हुने पनि टुँगो लागेको उनी सँगै रहेका न्यू साउथ वेल्स स्थित महावाणिज्य दूतावासका अवैतनिक दूत दिपक खड्काले जानकारी दिए । 
कूटनीतिक भेटघाटको अवसरमा नेपालमा यहाँको सीप र प्रविधि कसरी लैजान सकिन्छ भन्ने विषयमा पनि कुराकानी भएको छ । त्यसैगरी नेपालीहरुले यहाँबाट पाउन सक्ने फाइदा, सेवासुविधा, अवसरहरु तथा नेपालीहरुलाई काम गर्ने भिषा दिनको निम्ती समेत अनुरोध गरिएको खड्काले जानकारी दिए । 
विहिबार राजदूत दाहालले न्यू साउथ वेल्सका गभर्नर मार्गेट बेज्ली, प्रधानन्यायधिश टम बाथस्ट, सिड्नी सीटीका काउन्सेलर रोबर्ट कोक, मल्टिकल्चरल प्रमुख कार्यकारी जोसेफ पोेस्टा, लेजिस्लेटिभ काउन्सिलका अध्यक्ष जोन अकाजा, लेजिस्लेटिभ एसेम्बली सभामुख जोनथन ओडिया सँग भेटघाट गरे ।उक्त भेटका अवसरमा द्विपक्षीय भ्रमण तथा यहाँका राज्य र नेपालका राज्य विच भगिनि सम्बन्ध स्थापनाको विषयमा पनि कुरा भएको बताइएको छ । राजदूत दाहाल आफुले कार्यभार सम्हालेको एक बर्षपछि विहिबार भ्रमणमा निस्किएका हुन् । उनको दुई दिने भ्रमणले अष्ट्रेलिया र नेपालको कुटनीतिक सम्बन्ध अझै मजबुत हुने विश्वास लिइएको छ ।






