राप्रपा नेपालका नेता पद्मसुन्दर लावतीको निधन भएको छ । मुटु र मिर्गौला रोगबाट पीडित पूर्वमन्त्री लावतीको नर्भिक अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ७६ वर्षको उमेरमा मृत्यु भएको हो । उनलाई उपचारका लागि भेन्टिलेटरमा राखिएको थियो ।लामो समयदेखि मिर्गौला, कलेजो, मधुमेह र हृदयरोगबाट थलिनुभएका लावती पछिल्लो केहीदिनदेखि उपचारका लागि उक्त अस्पतालमा भर्ना हुनुभएको थियो । विसं १९९६ साउन ५ गते हालको पाकिस्तानको बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटृामा जन्मनुभएका लावती २०१३ सालदेखि विद्यार्थी राजनीतिमा होमिनुभएको थियो । विसं २०२४ सालमा पाँचथरका युवामध्येबाट राष्ट्रिय पञ्चायतको सदस्य बन्नुभएको थियो । उहाँले विसं २०२९ सालमा पहिलो पटक उद्योग राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएको थियो । अध्यक्ष लावती राजनीतिक जीवनमा १२ पटकसम्म मन्त्री बन्न सफल हुनुभएको थियो ।
उहाँले गृह, सामान्य प्रशासन, कृषि, उद्योग तथा वाणिज्य, सञ्चार, स्वास्थ्य, भूमिसुधारजस्ता महत्वपूर्ण मन्त्रालयको नेतृत्व गर्ने अवसर प्राप्त गर्नुभएको थियो । नेपालको राजनीतिक इतिहासमा उहाँ अत्यन्त प्रखर वक्ताका रुपमा परिचित हुनुहुन्थ्यो । पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) हुँदै सो पार्टीमा विवाद देखिएपछि समानान्तर केन्द्रीय समितिको अध्यक्षको भूमिका निर्वाह गर्दै आउनुभएको थियो ।
पूर्वमन्त्री पद्मसुन्दर लावतीको निधन






