कोनक्राई, गायना, १५ चैत । इबोला रोग सङ्क्रमणले ब्यापक सताएको गायनाको पश्चिमी क्षेत्रमा सो रोगका भाइरस विरुद्धको अभियानलाई अझ मजबुत गरी थप कदम चालिने त्यहाँका राष्ट्रपति अल्फा कोण्डेले आइतबार बताउनुभएको छ ।
सरकारी टेलिभिजनद्वारा प्रसारणको एउटा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले रोगबाट मृत्यु भएकाको शव गाड्दा कडाई गरिने र सङ्क्रमणको सबै सम्भावित द्वार बन्द गर्न सङ्कटकालीन उपाय अवलम्बन गर्न कुनै पनि कसर बाँकी नराखिने जानकारी दिनुभएको छ ।
यस्ता सङ्कटकालीन उपाय पाँट वटा जिल्लामा ४५ दिनसम्म लागु गरी सञ्चालन गरिने छ । यसमा प्रमुख तः सङ्क्रमणबाट मृत्यु भएकाको शव गाड्दा स्थानीय रेडक्रस वा सुरक्षाकर्मीको अनिवार्य रेखदेखमा गर्नुपर्ने छ । यसै क्रममा रेडक्रस वा सुरक्षाकर्मीले पनि सो शवबाट भाइरस अन्यत्र सङ्क्रमण हुन नदिने गरी सुरक्षाका लागि आवश्यक सबै उपाय अनिवार्य अवलम्बन गर्नुपर्ने छ ।
केही महिना अघिदेखि अधिकांश पश्चिमी अफ्रिकी मुलुकहरुमा प्राणघातक इबोला भाइरसले ब्यापकरुपमा सताएको छ । इबोला भाइरसको उत्पत्ति गायनामै भएको थियो र संयुक्त राष्ट्र सङ्घीय विश्व स्वास्थ संगठनका अनुसार यस रोगबाट सङ्क्रमित भै मृत्यु हुनेको सङ्ख्या गायनामा मात्र दुई हजार २०० भन्दाबढी रहेको छ ।
विश्व स्वास्थ संगठनको पछिल्लो साप्ताहिक प्रतिवेदनमा इबोलाका ४५ वटा नयाँ केसहरु दर्ता भएका छन् । गत वर्षको अगस्ट महिना देखिनै राष्ट्रपति कोन्डेले गायनामा “राष्ट्रव्यापी स्वास्थ सङ्कट”को घोषणा गर्नुभएको थियो ।
टेलिभिजन प्रसारणको उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले देशका अधिकांश जनताहरु यस रोग विरुद्ध साह्रै कम चनाखो भइरहेकाले जागरुक बनाई रोगबाट मुक्ति पाउन थप मजबुत उपाय अवलम्बन गर्नुपरेको समेत बताउनुभएको छ ।
इबोला भाइरसविरुद्ध मजबुत थप कदमहरु






