महिला र बालबालिकाको स्वास्थ्यमा काम गरिरहेका रेहड्सनलाई नारी निकुञ्जको निरन्तर सहयोग

सिड्नी । एनआरएनए अस्ट्रेलिया अन्तर्गतको नारी निकुञ्जले नेपालको महिला र बालबालिकाको स्वास्थ्य सुधार प्रोजेक्टको सहयोगका लागि अन्तरक्रिया तथा विविध कार्यक्रम सम्पन्न गरेको छ ।

महिलाहरुको प्रजजन स्वास्थ्य तथा बालबालिकाको स्वास्थ्यका लागि लामो समय देखि नेपालमा काम गर्दै आईरहेका डा.रेहड्सनको प्रोजेक्टको बारेमा जानकारी दिने उद्धेश्य सहित सेप्टेम्बर १७ तारिखमा केम्सीमा कार्यक्रम सम्पन्न भएको हो ।

डा.रेहड्सनले नेपालको ग्रामीण क्षेत्रका महिलाहरुको प्रजनन स्वास्थ्यको क्षेत्रमा लामो समय देखि काम गर्दै आईरहेका छन् । उनले नेपालको दोलखा जिल्लाको चरिकोटमा अस्पताल समेत निर्माण गर्दैछन् । उक्त अस्पतालको सहयोगार्थ नारी निकुञ्जले मे महिनामा अन्तरराष्टिय नारी दिवसको अवसरमा सहयोग सकंलन अभियान सञ्चालन गरेको थियो ।

अन्तरक्रिया कार्यक्रममा डा.रेहड्सनको प्रोजक्टको अवस्थाका बारेमा जानकारी गराउनुका साथै अहिलेसम्म भएका उपलब्धीहरुका बारेमा जानकारी गराईएको नारी निकुञ्ज न्यू साउथ वेल्स राज्य परिषद सयोंजक डा.समिता गुरुङले जानकारी दिईन् । उक्त अवसरमा तीजमा आयोजित कार्यक्रममा प्रायोजन गर्ने तथा अन्य विविध क्षेत्रबाट सहयोग सदभाव गर्ने र स्वयंसेवीहरुलाई सम्मान गरिएको उनले बताईन् ।

उक्त अन्तरक्रियामा डा.रेहड्सनले आफ्नो प्रोजेक्टको बारेमा जानकारी गराउँदै अस्पताल निर्माण कार्य सम्पन्न भएको र त्यसका लागि आवश्यक पर्ने डाक्टर लगायत अन्य स्वास्थ्यकर्मी र थप जनशक्तिको समेत व्यवस्थापन भएको जानकारी गराएका थिए ।

कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङ, नारी निकुञ्ज अस्ट्रेलियाकी सयोंजक मञ्जु खड्का, युवा समाजसेवी एवम् मोटिभेसनल स्पिकर बिनोद पौडेल लगायत नारी निकुञ्जका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली चर्चित गायिका मञ्जु पौडेलले सागींतिक प्रस्तुती दिएकी थिईन् ।

को हुन् डा रेहडसन  ?  के हो उनको प्रोजेक्ट ?

डा.रेहड्सन एक स्त्री रोग विशेषज्ञ हुन् । उनी अष्ट्रेलियाको न्यु साउथ वेल्स विश्व विद्यालयमा प्रसूति तथा स्त्री रोग विज्ञानका एसोसिएट प्रोफेसर हुन् ।

सन् २०१० मा डा रेले अन्तर्राष्ट्रिय सहायता संगठन, अस्ट्रेलियन्स फर वुमेन्स हेल्थ (A4WH) को स्थापना गरेका थिए । जसले नेपालमा मातृ स्वास्थ्यको डरलाग्दो अवस्था र मासिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने निणर्य गर्यो । सोही वर्ष देखि उनी र उनको स्वयंसेवकहरूको टोलीले नेपालको दुर्गम क्षेत्रमा नियमित शल्य चिकित्सा शिविरहरू सञ्चालन गर्दै आएका छन् ।

उनीहरुले महिला प्रजनन स्वास्थ्य तथा विभिन्न गम्भीर प्रकृतिका शल्यक्रियाहरु गर्नुका साथै माृत तथा शिशु मृत्युदर कम गर्न विभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्दै आईरहेका छन् । गर्भावस्थामा हुने विभिन्न जटिल परिस्थितिहरु सहित महिलाहरुको आगं खस्ने समस्या र अन्य तमामा स्त्री रोग सम्बन्धी डा. रेहडसनले काम गर्दै आईरहेका छन् । हरेक वर्ष ठूलो संख्यामा नेपाली महिला र तिनका शिशुको गर्भावस्थाको जटिलताका कारण मृत्यु हुने गरेको छ ।

डा. रे र उनको टोलीले ग्रामीण र दुर्गम नेपालमा नियमित शिक्षण कार्यक्रमहरू, स्थानीय शल्यचिकित्सकहरू, मिडवाइफहरू र नर्सहरूलाई तालिम दिएर यो समस्या समाधान गरिरहेका छन् । विगत दश वर्षमा, डा रे र उनका स्वयंसेवकहरूको टोलीले नेपाली महिला र उनीहरूका बालबालिकाको स्वास्थ्यमा ठूलो सुधार ल्याएका छन् भने अझै थुप्रै काम गर्ने योजना बनाएका छन् ।

डा. रेको अहिलेको ध्यान नेपालको दुर्गम जिल्ला दोलखामा मदर्स एण्ड बेबीज अस्पताल निर्माण गर्ने हो । यसरी उनी र उनका सहकर्मीहरूले आमा र शिशुहरूका लागि आधुनिक, सुरक्षित सुविधा प्रदान गर्न अस्पताल नै निर्माण गरेर लागि परेका छन् । धेरै पीडित महिलाहरूको उपचार गर्न अप-टु-डेट अपरेटिङ सुविधाहरू छन् ।

अस्पतालको माथिल्लो तला पूणर् रूपमा स्थानीय डाक्टर, मिडवाइफ र नर्सहरूलाई सिकाउन समर्पित हुनेछ । मदर्स एण्ड बेबीज अस्पताल निर्माणका लागि कोष सङ्कलन कार्य जारी छ ।

आगामी दिनमा पनि डा.रेको प्रोजेक्टलाई निरन्तर सहयोग गर्ने र अन्य सघं  संस्थाहरुसगं पनि समन्वय गराउने आफुहरुको उद्धेश्य रहेको गुरुङले बताईन् ।