काठमाडौँ । यस वर्षको मदन पुरस्कार साहित्यकार डा. नवराज लम्सालको महाकाव्य ’अग्नि’लाई प्रदान गरिने भएको छ । शनिवार बसेको मदन पुरस्कार गुठीको बैठकले लम्सालको महाकाव्यलाई मदन पुरस्कार प्रदान गर्ने निणर्य गरेको हो ।
पुरस्कारको राशि ४ लाख रुपैयाँ र प्रमाणपत्र रहेको छ । तर्क तथ्य र मधुर भावहरुको गुञ्जन ‘अग्नि’ महाकाव्य कवि नवराज लम्सालको तेस्रो महाकाव्य कृति हो । काव्यले जातीय विभेदका घटना उठान गर्दै मानवताको आलोक बालेको छ ।
महाकाव्यमा सामाजिक विभेदको चक्रव्यूहबाट आजीवन आजाद हुन नसकेका छेलाङी पात्रको दुःख-पीडा छताछुल्ल छ । ४१ सर्गमा बिस्तारित महाकाव्यले तरवारसँग गाँसिएको नेपाली वीरताको गौरवगाथा शिरोपर गरेको छ ।
डा. लम्साल वरिष्ठ साहित्यकार एवम् रेडियो नेपालका निर्देशक तथा कार्यक्रम महाशाखा प्रमुख हुन् ।गद्य र पद्यमा उत्तिकै कविता लेखन र वाचनले धेरै पाठक र स्रोताको मन जितेको छ।लम्सालका कणर्, धरा र अग्नि ३ महाकाव्य सहित ८ पुस्तक प्रकाशित छन् ।महाकवि लक्ष्मी प्रसाद देवकोटा पछि अर्को देवकोटाको रुपमा डा. लम्साललाई पछिल्लो पुस्ताले हेर्ने गरेको पनि पाईन्छ।






