फिन्ल्यान्ड । फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन्। प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी मरिन प्रधानमन्त्री बनेकी हुन्। मरिन यस अघि यातायात मन्त्री थिइन्।
पाँच वटा पार्टीको मिलिजुली सरकारमा उनी प्रधानमन्त्री बनेकी हुन्। रोयटर्सका अनुसार उनी विश्वकै कान्छी प्रधानमन्त्री हुन्। उनी २७ वर्षकै उमेरमा फिनल्यान्डको औधोगिक शहर टेम्पुरीको सिटी काउन्सी प्रमुख बनेकी थिइन्। फिनल्यान्डको औधोगिक क्षेत्रमा हड्ताल भइरहेको छ। त्यसकै कारण यस अघिका प्रधानमन्त्रीले राजीनामा दिएका हुन्। यही अवस्थामा उनले प्रधानमन्त्रीको कार्यभार सम्हाल्न लागेकी हुन्।
को हुन् मरिन ?
साना मिरेला मरिन फिनल्याण्डकी सोसल डमोक्रेट राजनीनिज्ञ हुन् । उनी सत्तारुढ पार्टी एसडिपीसँग आबद्ध छन् । उनको जन्म सन् १९८५ नोभेम्बर १६ मा भएको हो । हेल्सिन्कीमा जन्मेकी मरिनले केही वर्ष इस्पूर र पिरकालामा बिताएकी थिइन् । हाल उनी टाम्पेरेमा बस्छिन् ।
सन् २०१५ देखि फिनिस संसदको सदस्य बन्दै आएकी मरिनलाई गत जुनदेखि फिनल्याण्डको यातायात तथा सञ्चारमन्त्री नियुक्त गरिएको छ । उनी सन् २०१३ देखि २०१७ सम्म टाम्पेरेको नगर परिषद अध्यक्षमा समेत निर्वाचित भएकी थिइन् । उनी टाम्पेरे राज्य परिषदको सदस्य समेत हुन् ।
मरिनले सन् २०१२ मा टाम्पेरे विश्वविद्यालयबाट प्रशासनिक विज्ञानमा स्नातक पूरा गरेकी छन् ।
सत्तारुढ पार्टी एसडिपीले मरिनलाई आइतबार आफ्नो नेता चुनेको छ । यसअघि सन् २०१४ मा एसडिपिको दोस्रो उपाध्यक्षमा निर्वाचित बनेकी थिइन् । मरिन आफ्ना पति मार्कस राकोनेन र एक सन्तानसँग बस्दै आएकी छन् ।
मरिन चार वर्षअघि पिरकान्मा जिल्लाबाट सांसदमा चुनिएकी थिइन् । सन् २०१९ मा उनी पुनः सोही क्षेत्रबाट चुनाव जित्दै सांसद बनेकी हुन् । जुनदेखि उनले यातायात तथा सञ्चारमन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएकी छन् ।






