भीएफएमको भेटघाट चौतारीमा अभिभावकको जमघट

तक्दीर अधिकारी
सिड्नी । भिजन फर मोटिभेसन (भीएफएम) ले नेपालबाट अस्ट्रेलिया पुगेका अभिभावकलाई एकैथलोमा भेला पारेर वनभोज तथा भेटघाट कार्यक्रम आयोजना ग-यो । सेन्ट जर्जजे क्षेत्रका अभिभावकका लागि ७ डिसेम्बरमा बेसिन्टनियल पार्क रकडेलमा भीएफएमले भेटघाट तथा वनभोज कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा बीबीक्यु, संगीत र नृत्य कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रम डिबी थापाको सभापतित्वमा भएको थियो भने  कार्यक्रमको सञ्चालन भेटघाट चौतारीका सचिव राम अधिकारीले गरेका थिए ।  २ सय ५० जनाभन्दा बढी अभिभावकको सहभागिता भएको कार्यक्रमा भेटघाट चौतारीका अग्रज शिव प्रसाद घिमिरे ले स्वागत मन्तब्य दिएका थिए ।

उक्त कार्यक्रमलाई बेसाइड काउन्सिलर एन्ड्रयु टुनोसीले सम्बोधन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि टुनोसीले भने, बेस सायर काउन्सिलमा सबैलाई स्वागत गर्न चाहन्छु । बेसाइड काउन्सिलमा नेपालीहरुको जनसंख्या धेरै बढेको छ । नेपालीहरुले आईटीलगायत विभिन्न क्षेत्रमा योगदान पु¥याइरहेका छन् । हाम्रो यो काउन्सिल बहुसांस्कृतिक बन्दै गएको छ । नेपालीहरुले पु-याएको योगदानलाई काउन्सिले सकरात्मक रुपले हेरिरहेको छ । आउँदा दिनमा पनि नेपाली समुदायले अझ राम्रो काम गर्नेछ भन्ने काउन्सिलले आशा राख्दछ । भीएफएमले यस्तो कार्यक्रम राखेर एकदमै राम्रो काम गरेको छ । यस्ता कार्यक्रमले सबैलाई उत्पे्ररित गर्छ । उनले भने, ‘भीएफएम र कार्यक्रममा सहभागीलाई धन्यवाद दिन चाहन्छु ।’ यस्तै,  रक्डेलका पूर्व मेयर तथा काउन्सिलर बिल साराभोक्सीले अभिभावकलार्ई एकै ठाउँमा भेला पारेर भीएफएमले एकदमै राम्रो काम गरेको बताए ।

कार्यक्रमका अतिथि एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा एनएसडब्लु राज्य परिषद् संयोजक देव गुरुङले भीएफएमको कार्यक्रम एकदमै राम्रा छन्, यसले नेपाली समाजलाई जागरुक गराउँछ । अभिभावको अस्ट्रेलिया बसाई फलदायी बनाउने वताए ।

कार्यक्रमका सभापति थापाले भने, ‘यो महत्वपूर्ण कार्यक्रम हो, कार्यव्यस्तताका कारणले बाबा आमालाई समय दिन नसक्ने हुँदा घरमा बसिरहेका अभिभावकको मनमा अनेक कुरा खेल्छ । उहाँहरुलाई यहाँ ल्याएर भेटघाट तथा एकअर्कामा चिनापर्ची गर्दा भने उहाँहरुको मन हलुंगो हुन्छ महेश प्रसाई अभिभावकहरुको पनि अभिभावक भएका छन ,’ उनले यी कुरा भनिरहँदा धेरै अभिभावकको आँखा रसाएका थिए ।

भीएफएमको संस्थापक महेश प्रसाईले भने, पहिलो कुरा त म सेल्फ मोटिभेसनले नै सामाजिक क्षेत्रमा लागेको हुँ । साथै म आफै पनि सोसिएसल वर्कको विद्यार्थी हुँ । जुन काम गर्दा मलाई मनमा शान्ति प्राप्त हुन्छ, त्यस्ता काम म पहिलादेखि नै गर्दै आएको थिएँ । यस्ता कामका लागि मेरो मूल पे्ररणाको श्रोत भनेकै बुवाआमा नै हुनुहुन्छ ।

औपचारिक रुपमा भीएफएम रजिष्टर भएको तीन वर्ष भयो । तर अनौपचारिक रुपमा यही संस्थामा काम गरेको चाहिँ ११ वर्ष बित्यो, संस्थापक  प्रसाईले भने । ‘सामाजिक काम गर्न अस्ट्रेलियामा के अप्ठ्यारा छन् भन्ने लन्डन नेपाल न्यूजको जिज्ञासामा संस्थापक अध्यक्ष प्रसाईले भने, ‘जुनसुकै सामाजिक काम गर्न चुनौतिपूर्ण हुन्छ, किनभने यहाँ समय महत्वपूर्ण छ । अस्ट्रेलियामा समयलाई पैसासँग दाँजिन्छ, त्यो हो पनि । सामाजिक कामका लागि धेरै समय दिन सकिन्न । बाँकी रहेको समय के गर्दा आनन्द लाग्छ, त्यो गर्ने हो । मेरो हकमा भन्ने हो भने मलाई यस्तो सामाजिक काम गर्दा रमाइलो लाग्छ । बुवाआमाहरु जो नेपालमा विभिन्न पदमा बसेर काम गरिसक्नु भएको छ । उहाँहरु संसद, प्रहरी र सैन्य सेवाको संगठन चलाएर आउनु भएको छ, उहाँहरुको संगतलाई मेरो व्यक्तित्वसमेत विकास भएजस्तो लाग्छ ।’ यस क्षेत्रमा सामुदायिक केन्द्र आवश्यक रहेको र भीएफएमले त्यो आवश्यकता पूरा गर्न पहल गरिरहेको  सस्थापक प्रसाईले जानकारी दिए ।

बार्टन क्षेत्रमा झन्डै २ हजार २५ सय अभिभावकहरु हुनुहुन्छ । उहाँहरु आउने जाने गरिराख्नु भएको हुन्छ । त्यसैले उहाँहरु कति हुनुहुन्छ भन्ने एकिन तथ्यांक हामीसँग छैन । हाम्रो कार्यक्रममा उहाँहरुलाई निम्तो गर्दा दुई चार सय यत्तिकै भेला हुन्छ ।

भीएफएमको आउँदो कार्यक्रम के छ भन्ने अर्को जिज्ञासामा प्रसाईले भने, ‘यो चाहिँ हामीले अभिभावहरुलाई गर्ने साइट जब हो । विशेषगरी हामी विद्यार्थीका लागि काम गछौं । विद्यार्थीसँग सम्बन्धित हामी धेरै कार्यक्रम गर्छौ । २२ डिसेम्बरमा हामी समुन्द्रिक सुरक्षा समन्धी ज्ञान महोत्सव गर्दै  छौं। नेपाली विद्यार्थीहरु पानीमा डुबेर अकालमा ज्यान गुमाइरहेका थिए, सचेतना अभिवृद्धि गर्न हामीले समुन्द्रिक सुरक्षा समन्धी ज्ञान महोत्सव गरेका हौं । विगत तीन वर्षदेखि हामीले यो कार्यक्रम गर्दै आएका छौं, जसको प्रभावले नेपाली विद्यार्थी पानीमा डुबेर मर्नेको संख्यामा कमी आएको छ । त्यसबाहेक पाइप लाइनमा हाम्रा धेरै इभेन्ट कार्यक्रम गछौं । सचेतना अभिवृद्धिका इभेन्ट कार्यक्रम हामी एकदम धेरै गछौं ।’

देउसी भैलीमा उत्कृष्ट नृत्य प्रस्तुत गर्ने सान्नी राजभण्डारीलाई कार्यक्रम पुरस्कृत गरिएको थियो ।

एनआरएनए न्यू साउथ राज्य परिषद्का सहसचिव तीर्थराज अधिकारीले भने, ‘भीएफएमले धेरैजसो विद्यार्थी भाइ बहिनीको हकहितको काम गर्दै आएको छ । सचेतना, नदी किनारामा सुरक्षाजस्ता कार्यक्रम गरेर विद्यार्थी भाइ बहिनीहरुलाई भीएफएमले जोडिरहेको छ । अहिले अभिभावकहरुलाई संगठित गर्ने काम गरेको छ । गैरआवासीय नेपाली र भीएफएम मिलेर उहाँहरुलाई राहत दिन सक्यौं भने त्यो फलदायी हुन्छ । अभिभावकलाई वनभोजमा सहभागी गराएर भीएफएमले राम्रो काम गरेको छ । अभिभावकलाई समेट्ने यस्तै कार्यक्रम एनआरएनले पनि आयोजना गर्दैछ । उहाँहरुलाई निम्तो गर्न यो कार्यक्रमले हामीलाई सजिलो भएको छ ।

विगत ९ महिनअघि अस्ट्रेलिया आइका काठमाडौं गल्फुटारका महालक्ष्मी राजभण्डारी एक अभिभावक हुन् । उनको यो पाँचौं अस्ट्रेलिया यात्रा हो । उनलाई भीएफएमको कार्यक्रम रमाइलो लाग्यो । यो कार्यक्रमले अभिभावकहरुलाई भेट गराउने काम भीएफएमले गरेकोमा उनी खुशी छन् । उनले भने, ‘भीएफएममा मैले चिनेको चाहिँ महेश प्रसाई हो, विगत तीन चार वर्षअघिदेखि नै यस्तो जमघट भइरहेको छ ।’
उनले भने, अस्ट्रेलियामा अभिभावकहरु सीमित कोठामा बाँधिएर बस्नुपर्ने हुन्छ । दिन काट्न मुस्किल भयो भनेर अस्ट्रेलिया आएको १५ दिनमा फर्किनेहरु पनि भेटिएको छ ।

भीएफएमका कार्यकारी अधिकृत आयुष रिजालले भने, ‘म भीएफएममा लागेको एक वर्षभन्दा बढी भयो । अस्ट्रेलियामा विद्यार्थी र उनीहरुका आफन्तलाई समस्या हुन्छ । अस्ट्रेलिया आइसकेपछि ती आफन्तलाई कहाँ भेट्न जाने, कसलाई भेट्ने केही थाहा हुँदैन । चिनेका मान्छे हुँदैन, भाषा समस्या हुन्छ । त्यस्ता बेला समस्या नहोस्, सबैलाई एकै ठाउँमा ल्याउँ, र उनिहरुका समस्याहरु लाई  समाधान गर्न पहल गर्ने भीएफएमको मूल उद्देश्य हो ।

यस्ता सामाजिक काम गर्दा कतिपयले तिमीहरुले पैसाका लागि काम गरिरहेका छौं, जाँड रक्सी खान्छौं भन्ने खालका आरोप लगाउँछन् । तर हाम्रो उद्देश्य त्यस्तो होइन, पार्टीमा गएर जाँड रक्सी खाने पैसाले अभिभावक तथा अप्ठ्यारामा परेका विद्यार्थीका लागि खर्च गरौं भन्ने हाम्रो उद्देश्य हो । मेरो बुवाआमा अस्ट्रेलिया आउनु भएको छैन, तर साथीहरुको बुवाआमा देख्दा पनि अभिभावकको तृष्णा मेटिदो रहेछ, रिजालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *