सिड्नी । अर्घाखाँची समाज अस्ट्रेलियाले तीज विशेष कार्यक्रम गर्ने भएको छ । हिन्दुनारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर ईन्द्रेणी फकंसन सेन्टर रक्डेलमा यही अगष्ट २७ तारिखमा तीज विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रममा नेपालका चर्चित लोक दोहोरी कलाकारहरु देवी घर्ती, बसन्त थापा, सुनितामी परियार र स्थानीय कलाकार निशा केसीले सांगीतिक प्रस्तुती दिने समाजका अध्यक्ष मिन भुषालले जानकारी दिए । ४ जना कलाकारले उपस्थित दर्शकहरुलाई तीजका भाका प्रस्तुत गरेर भरपुर मनोरञ्जन प्रदान गर्ने बताए ।
यो सगैं नाचगान तथा अन्य रमाईलो कार्यक्रमको आयोजना गरिएको छ । समाजले कार्यक्रमबाट सकंलित रकम परोपकारी कार्यमा खर्च गर्ने उद्धेश्य राखेको छ । समाजका उपाध्यक्ष ज्योति केसीले कार्यक्रमबाट सकंलित रकम गृह जिल्ला अर्घाखाँचीका गरिब तथा जेहेन्दार विद्यार्थीहरुको अध्ययनमा खर्च गरिने बताए ।
कार्यक्रमका लागि कलाकारहरु आईपुगेको समेत अध्यक्ष भुषालले बताए । कार्यक्रमलाई सञ्चारकर्मी राम न्यौपाने र श्रेया ज्ञवालीले सञ्चालन गर्नेछन् । कार्यक्रमलाई ओसियाना एजुकेशन एण्ड भिसा सर्भिसेसले टाईटल स्पोन्सरको रुपमा साथ दिएको छ भने गोल्ड स्पोन्सरमा ल्याण्ड एण्ड लिज रियालिटि र मल्टिडायनामकि रियलस्टेट रहेका छन् । त्यस्तै प्रोपर्टी प्लस, एम्पायर्स होम्स एण्ड कन्ट्रक्सन र एक्स्ट्रा टेकले सिल्भर स्पोन्सर गरेका छन् भने अन्य विभिन्न व्यवसायहरुले प्रायोजन गरेका छन् ।
अस्ट्रेलियामा रहेका अर्घाखाँचीबासीहरुको साझा संस्थाको रुपमा सन् २०१८ मा स्थापित संस्थाले विभिन्न सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम सगैं परोपकारी र सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।
समाजले गृह जिल्लाका दिर्घरोगी तथा आर्थिक अभावमा उपचार नपाएका गरिब विपन्न व्यक्तिहरुलाई उपचारमा सहयोग गर्दै आईरहेको छ । सम्बन्धित वडा कार्यालयको सिफारिस तथा व्यक्तिको अवस्था हेरेर उपचारमा सहयोग गर्दै आईरहेको समाजले जनाएको छ ।
त्यस्तै अर्घाखाँचीमा रहेका स्थानीय तह मध्ये प्रत्येक स्थानीय तहबाट एक जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रत्येक वर्ष नगद १० हजार रुपैयाँ छात्रवृत्ति वितरण गर्दै आईरहेको छ । अर्घाखाँची स्थायी घर भई अस्टेलियामा रहेका नेपालीहरुलाई सगंठित गर्ने र विभिन्न समस्यामा सहयोग गर्ने उद्धेश्य समेत राखेको संस्थाले नेपालबाट अध्ययनका लागि आउने विद्यार्थीहरु समस्यामा परेमा त्यस्ता विद्यार्थीहरुलाई पनि सहयोग गर्दै आईरहेको छ ।
नारायण खनाल संस्थापक अध्यक्ष रहेको समाजको २०२२ अधिवेशन बाट मिन भुसलको नेत्रित्वमा नयाँ कार्य समिति चयन भएको थियो ।






