कांग्रेस नेता प्रदीप गिरिको निधन,आज अन्तेष्टी गरिने

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधन भएको छ ।

गिरिको ७५ वर्षको उमेरमा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ बजेर २९ मिनेटमा निधन भएको गिरिका स्वकीय सचिव कृष्ण खनालले जानकारी दिए ।

यसैबीच, नेपाली कांग्रेस संसदीय दलले उनको पार्थिव शरीरलाई आज विहान ९ देखि ११ बजेसम्म मेडिसिटी अस्पतालको शिवालयमा श्रद्धान्जलीका लागि राखिने जनाएको छ ।

त्यसपछि, साढे ११ बजेदेखि दिउँसो २ बजेसम्म पार्टी कार्यालय सानेपामा श्रद्धान्जलीको लागि राखिने सचेतक मीन विश्वकर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । श्रद्धान्जलीपछि पशुपति आर्यघाटमा गिरिको अन्त्येष्टि गरिनेछ ।

घाँटीको क्यान्सरबाट पीडित गिरि भारतमा लामो समय उपचार गराएर स्वदेश फर्किएका थिए । तर, पुनः स्वास्थ्यमा समस्या देखिएपछि उनी विगत तीन सातादेखि मेडिसिटीमा उपचार गराइरहेका थिए ।